५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङको साकेला गाउँपालिकामा आठौँ अन्तरविद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। गाउँपालिकाको प्रायोजन तथा गाउँ शिक्षा, युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।

साकेला गाउँपालिका–१ स्थित चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँको स्थानीय व्यवस्थापनमा बाँझेच्यानडाँडास्थित खेलमैदानमा भइरहेको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष रविप्रकाश राईले गरेका थिए। प्रतियोगितामा गाउँपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका छात्रछात्राको सहभागिता रहेको छ र प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष भलिबलका साथै एथ्लेटिक्सतर्फ विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ। एथ्लेटिक्सतर्फ हाईजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याबलिन थ्रो र सटपुट समावेश छन्। दौडतर्फ १००, २००, ४००, ८०० र १५०० मिटर तथा १०० र ४०० मिटर रिलेदौडमा प्रतिस्पर्धा भइरहेको छ। अन्य सबै खेलमा छात्रा खेलाडी सहभागी भए पनि १५०० मिटर दौडमा छात्रा सहभागी नगराइएको आयोजकले जनाएको छ।

प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। समग्रमा प्रथम हुने विद्यालयले रनिङ शिल्डसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुने विद्यालयलाई ट्रफी र मेडल प्रदान गरिनेछ।

गाउँपालिकाले ३ लाख रुपैयाँ र वडा नं. १ कार्यालय बाँझेच्यानडाँडाले १ लाख रुपैयाँ बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ। गाउँपालिकाको बजेटमा प्रतियोगिता आयोजना हुने विद्यालय वडाले पनि साझेदारीस्वरूप बजेट व्यवस्थापन गर्ने गरिएको छ।

उद्घाटन कार्यक्रममा अध्यक्ष राईले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने र विद्यार्थीको सर्वाङ्गीण विकाससँग जोडिनुपर्ने बताए। खेलकुदले अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक सद्भाव बढाउने भन्दै गाउँपालिकाले हरेक वर्ष रनिङ शिल्डसहित अन्य खेलकुद गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे।

उपाध्यक्ष बिर्सिका राईले शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै महिला, विपन्न र ग्रामीण क्षेत्रका विद्यार्थी लक्षित कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिइन्। खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने भन्दै शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने नीति अनुसार प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष अर्जुनकुमार खड्का, वडा नं. १ का अध्यक्ष हेमन राई, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष जीवन खत्री, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थी, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।

गत वर्ष सम्पन्न सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेले जितेको थियो। यस वर्षको विजेता २३ माघमा घोषणा हुने आयोजकले जनाएको छ।

प्रकाशित: २१ माघ २०८२ २१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App