नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
आठ अंकसहित च्याम्पियन बनेका सिलवालले उपाधिसँगै नगद ५० हजार रुपैयाँ र ट्रफी हात पारे।
काठमाडौं स्पोर्ट्स एकेडेमी र काठमाडौं महानगरपालिका वडा नं-१६ को आयोजनामा १७ कात्तिकदेखि सुरु प्रतियोगितामा १३२ खेलाडी सहभागी थिए।
महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन बनिन् भने काठमाडौंकी राधिका पौडेल दोस्रो र कुसुम घिसिङ तेस्रो भए।
स्थानीय विधातर्फ वडा नं-१६ का जनार्दन श्रेष्ठ पहिलो र मोहम्मद इमरान खान दोस्रो भए। त्यस्तै, बेस्ट केएम विधामा सिमा नवीन तण्डुकार, भुटानतर्फ बर्दीलाल नेपाली र अन्य विधातर्फ सविन प्रकाश सैंजु प्रथम भए।
नेपाल बुद्धिचाल महासंघको अध्यक्ष पदका उम्मेदवारका रूपमा विशेष महाधिवेशनमा सहभागी भएका प्रबिन बहादुर भडेलका अनुसार युवातर्फ १६ वर्षमुनि शुभमदीप थापा, १४ वर्षमुनि प्रबिर केसी तथा १२ वर्षमुनि हार्दिक पन्त र राजन शाह उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका थिए।
प्रतियोगिताको उद्घाटन वडा नं- १६ की अध्यक्ष रोजिना श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमको अध्यक्षता काठमाडौं स्पोर्ट्स एकेडेमीका अध्यक्ष एवं नेपाल बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष नारायण गमालले गरेका थिए।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापन संयोजक अमित तामाङले गरेका थिए।
प्रकाशित: १८ कार्तिक २०८३ २२:१६ बुधबार





