नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले देश प्रधानमन्त्री र मन्त्रीले नभई सल्लाहकारहरूको ‘भूमिगत गिरोह’ ले चलाइरहेको आरोप लगाएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्ट्रलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले राज्य संयन्त्र पूर्ण रूपमा ‘प्यारालाइज्ड’ भएको दाबी गरे।
पञ्चायतकालमा जस्तै अहिले पनि पर्दा पछाडिबाट राज्य सञ्चालन भइरहेको महामन्त्री राणाको भनाइ छ। ‘पञ्चायतकालमा भूमिगत गिरोहले देश चलाउँथ्यो, त्यतिबेला त्यसको नेता ज्ञानेन्द्र शाह हुन् भनिन्थ्यो,’ उनले भने, ‘अहिले भूमिगत गिरोहको नेता को हो भनेर तपाईं हामीले खोज्नुपर्ने बेला आएको छ।’
मन्त्रालयका सचिव र आधिकारिक कर्मचारीलाई बाइपास गरेर प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरूमा राखिएका ८-१० जना सल्लाहकारले सबै निर्णय गरिरहेको उनले बताए।
‘देश प्रधानमन्त्रीले पनि चलाउनुभएको छैन, कर्मचारीले पनि चलाएका छैनन्,’ राणाले थपे, ‘पर्दा पछाडि को छ ? कहिले मोबाइल गायब गर्ने, कहिले कल बाइपास गर्ने जस्ता क्रिमिनल माइन्ड भएका मान्छेले अहिले सरकार चलाइरहेका छन्।’
सरकार सञ्चालकहरूले राज्यका हरेक निकायलाई त्रसित बनाएको उनले बताए। मिडिया हाउसमा प्रहरी पठाएर तर्साउने, छोटो समयमै ५०० भन्दा बढी कर्मचारीलाई धम्काएर राजीनामा गर्न बाध्य पार्ने र सिँचाइका हाकिमलाई रातभरि थुनेर आफू अनुकूल टेन्डर रद्द गर्न लगाएको उदाहरण उनले प्रस्तुत गरे।
‘न्यायाधीशहरूलाई थुरथुर पारिएको छ, अख्तियारका प्रमुखलाई ल्याएर सिंहदरबारमा छुट्टै कोठा गठन गरी थुनिएको छ,’ राणाले भने, ‘प्रधानमन्त्रीको आदेशमा पक्राउ गरिएको भनिन्छ, तर प्रधानमन्त्री कार्यालयले हामीलाई थाहा छैन भन्छ। अनि यो देश कसले चलाइराख्या छ ?’
देशलाई गलत दिशामा लगिएको भन्दै उनले अब कांग्रेस चुप लागेर नबस्ने बताए। लोकतन्त्र, संविधान, प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि संसद्मा सशक्त आवाज उठाउने भन्दै महामन्त्री राणाले सरकारको धम्कीबाट कांग्रेस र मिडिया कोही पनि नडराउने बताए।
प्रकाशित: १८ कार्तिक २०८३ २१:३८ बुधबार





