१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन् । उनले विगतको राजनीतिक घटनाक्रमबाट पाठ सिक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका पालामा प्रहरी महानिरीक्षकलाई समयअगावै परिवर्तन गरिएको घटनाको स्मरण गराएका हुन् ।

उनले त्यतिबेला आईजीपी परिवर्तन गर्ने निर्णय नेकपा (एमाले) का लागि सुखद् नभएको उल्लेख गरेका छन् । प्रहरी महानिरीक्षकको पुनर्बहालीपछि एमालेले पार्टी विभाजनसम्मको गम्भीर पीडा भोग्नुपरेको उनको भनाइ छ ।

पोखरेलले विगतको उक्त तितो राजनीतिक अनुभवबाट रास्वपा नेतृत्वको सरकारले पाठ सिक्न नसकेको टिप्पणी गरेका छन् ।

पोखरेलले लेखेका छन्, “हिजो कमरेड वामदेव गौतम गृहमन्त्री रहेका बेला समयअगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दाको परिणाम नेकपा (एमाले) का लागि सुखद् रहेन । उसले प्रहरी महानिरीक्षकको पुनर्बहालीपश्चात् पार्टी विभाजनसम्मको गहिरो पीडासमेत बेहोर्नुपरेको थियो । रास्वपा नेतृत्वको सरकारले उक्त तितो यथार्थबाट पाठ सिक्न सकेको देखिएन।”

प्रकाशित: १८ कार्तिक २०८३ २१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App