नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा-५ का उम्मेदवार बालेनको अभिव्यक्तिप्रति व्यंग्य गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले झापा-काठमाडौं सम्पर्क कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालेनको ‘सुकुमबासीको ज्यान जोगाउन काठमाडौंमा डोजर चलाएको’ भन्ने स्पष्टीकरणलाई लिएर कटाक्ष गरेका हुन्।
आफ्नै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीका रूपमा उभिएका बालेनले हालै झापाका सुकुमबासीबस्तीमा पुगेर दिएको अभिव्यक्तिको जवाफ दिँदै ओलीले भने, ‘मैले सुनेँ, सुकुमबासीको सुरक्षाका लागि पो डोजर लगाइने रैछ। बाढी आउँछ, डुबान हुन्छ भनेर उहाँहरूको ज्यान जोगाउन डोजरले घर भत्काइदिएको अरे ! गरिबका झुपडीमा डोजर चलाएर सुरक्षा गरेको भन्ने तर्क अनौठो छ।’
काठमाडौं महानगरको मेयर रहँदा थापाथली लगायतका सुकुमबासी बस्तीमा डोजर चलाउन खोजेपछि आलोचित बनेका बालेन अहिले ओलीकै क्षेत्रमा भोट माग्न व्यस्त छन्।
घरदैलोका क्रममा झापाका स्थानीय सुकुमबासीले ‘काठमाडौंमा जसरी हामीलाई पनि हटाउने हो कि ?’ भनी चिन्ता व्यक्त गरेपछि बालेनले आफ्नो बचाउ गरेका थिए।
बालेनले मतदातासँग भनेका थिए, ‘काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गामा बाढीको जोखिम छ। उहाँहरूलाई सुरक्षित ठाउँमा सार्न खोजिएको हो। तर, गलत न्यारेटिभ बनाएर डोजर आतंक जस्तो देखियो। खासमा उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो।’
बालेनको सोही भनाइलाई ‘काउन्टर’ दिँदै ओलीले एमाले बाहेकका शक्तिहरू सुकुमबासी विरोधी रहेको दाबी गरे।
उनले भने, ‘नेकपा एमाले सरकारमा हुँदा सुकुमबासी समस्या समाधान आयोग बनाउँछ, लालपुर्जा बाँड्छ र व्यवस्थित बसोबास गराउँछ। तर, अरूहरू गरिबका बस्तीमा आगो लगाउँछन् र डोजर चलाउँछन्।’
प्रकाशित: २१ माघ २०८२ २१:५४ बुधबार





