१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

‘फेक फलोअर’ बढेको हो भन्ने प्रश्नमा ओली ‘मुसुक्क’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा पछिल्लो समय देखिएको अस्वाभाविक फलोअर वृद्धि शुभचिन्तकहरूको मायाका कारण भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले झापा-काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले ‘फेक फलोअर’ बढाएको भन्ने आरोपलाई हाँसेरै टारिदिएका हुन्।

सञ्चारकर्मीले ‘तपाईंको फेसबुक पेजमा एक्कासि यत्रो फलोअर बढिरहेका छन् नि ?’ भनी प्रश्न सोधेका थिए। जवाफमा ओलीले मुसुक्क हाँस्दै जवाफ दिए, ‘यो तपाईंहरूको माया हो।’

लगत्तै सञ्चारकर्मीले ‘कसैले त फेक पनि भनिराख्या छन् नि ?’ भनी प्रतिप्रश्न गर्दा ओलीले त्यसलाई सामान्य रूपमा लिँदै भने, ‘फेक भन्नेलाई भन्न दिऊँ, तपाईंहरु चुनाव जिताउनेतिर लाग्नुस् न।’

‘फलोअर बढ्नुलाई चुनाव जित्ने सङ्केतको रूपमा लिन सकिन्छ त ?’ भन्ने अर्को प्रश्नमा ओलीले केही नबोली मुसुक्क हाँसेर सहमति जनाउँदै बाहिरिएका थिए।

पछिल्लो दुई दिनयता पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको आधिकारिक फेसबुक पेजमा देखिएको अस्वाभाविक फलोअर वृद्धि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

आइतबारसम्म करिब ७ लाख २९ हजार फलोअर रहेको उनको पेजमा बुधबारसम्म आइपुग्दा यो सङ्ख्या ९ लाख ५७ हजार नाघेको छ।

सामाजिक सञ्जालको तथ्याङ्क राख्ने ‘सोसल ब्लेड’ का अनुसार मङ्गलबार एकैपटक डेढ लाखभन्दा बढी फलोअर थपिएका थिए। निश्चित समयमा हरेक मिनेट एक हजारका दरले फलोअर बढ्ने र फेरि अचानक रोकिने शङ्कास्पद गतिविधि देखिएको थियो।

यसले ‘क्लिक फार्मिङ’ वा ‘बोट’ (रोबोटिक सफ्टवेयर) प्रयोग गरेर कृत्रिम फलोअर किनिएको हुनसक्ने आशंका उब्जाएको छ।

यसअघि तत्कालीन काठमाडौं महानगरका मेयर बालेन शाहसँगको विवादका क्रममा अनफलो अभियान चलेपछि ओलीको पेजमा फलोअरको सङ्ख्या ह्वात्तै घटेर ६ लाखभन्दा तल झरेको थियो।

अहिले एक्कासि लाखौं फलोअर थपिनुलाई कतिपयले १० लाख फलोअर पुर्‍याएर पोस्टमा आउने रियाक्सनहरू लुकाउने प्राविधिक रणनीतिको रूपमा समेत विश्लेषण गरेका छन्।

प्रकाशित: २१ माघ २०८२ २२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App