१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरलाई आयोगले सोध्यो- निर्वाचन आचारसंहिताका बीच ‘घरदैलो स्वास्थ्य सेवा’ किन ?

निर्वाचनको मुखैमा काठमाडौं महानगरपालिकाले नयाँ कार्यक्रम सुरु गरेको आशंकामा निर्वाचन आयोगले महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको अवस्थामा महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको घरघरमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिन थालेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले महानगरलाई पत्र लेख्दै कार्यवाहक नगरप्रमुख सुनिता डंगोलको नेतृत्वमा सुरु भएको भनिएको यो कार्यक्रम चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएको हो वा होइन ? भन्दै जवाफसहितका कागजात पेस गर्न निर्देशन दिएको छ।

May be an image of one or more people

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने भनिएको छ।

यद्यपि, सरुवा रोगको महामारी वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिएर कार्यक्रम गर्न बाधा नपर्ने व्यवस्था छ। तर, महानगरको यो अभियान महामारी नियन्त्रण नभई नियमित स्वास्थ्य जाँचसँग सम्बन्धित रहेकाले आयोगले प्रश्न उठाएको हो।

निर्वाचन आयोगका सह-प्रवक्ता सीता पुनका अनुसार महानगरले घरघरमा स्वास्थ्य सेवा भन्दै प्रचारप्रसार गरेपछि आयोगको ध्यानाकर्षण भएको हो।

‘उहाँहरूले घर-घरमा के कार्यक्रम लैजानुभएको हो, त्यो वार्षिक कार्यक्रमभित्रको थियो कि नयाँ हो भनेर सोधेका हौँ,’ सहप्रवक्ता पुनले भनिन्, ‘वार्षिक क्यालेन्डरमा पहिल्यै पास भएर राखेको कार्यक्रम भए त पाइयो। तर, अहिले आएर नयाँ नीति ल्याउन त पाइँदैन। त्यही भएर हामीले वास्तविकता बुझ्न पत्र काटेका हौं।’

आयोगले सोमबार पत्र पठाएको र जवाफको पखाईमा रहेको उनले बताइन्।

यता, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने यो कार्यक्रम नयाँ नभई वार्षिक बजेटमै रहेको दाबी गरेका छन्।

May be an image of one or more people and dais

‘यो हाम्रो सेडुल र बजेटमै भएको कार्यक्रम हो। ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार हाम्रो प्राथमिकतामा थियो,’ मानन्धरले भने, ‘कार्यान्वयनमा ढिलाइ हुनुको कारण चाहिँ सबै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू स्थापना भइसकेका थिएनन्। अहिले करिब-करिब ३२ वटै वडामा स्वास्थ्य उपचार केन्द्र स्थापना भइसकेकाले सेवा सुरु गरिएको हो। यो निरन्तर चल्छ।’

काठमाडौं महानगरले आइतबारदेखि ७० वर्षमाथिका नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्था सर्वेक्षण र उपचार सुरु गरेको थियो। कार्यवाहक प्रमुख सुनिता डङ्गोल आफैं वडा नम्बर ३१ र २७ का घरदैलोमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझेकी थिइन्।

प्रकाशित: २० माघ २०८२ १६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App