१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

बिखालु सामाजिक सञ्जाल

आजको फेसबुक तथा इन्स्टाग्रामको युगमा यसलाई तपाईँहरू आफूलाई एउटा मिथक बनाउने प्रक्रियाका रूपमा स्पष्ट अवलोकन गर्न सक्नुहुन्छ, अझ भनौँ भ्रमको दुनियामा आफूलाई धकेल्दै हुनुहुन्छ। साँच्चै आज कतिपय कुरा मानिसको दिमागबाट कम्प्युटरमा स्थानान्तरण भएका छन्। कसैलाई लाग्न सक्छ–यो निकै मनमोहक छ। तर होइन। यो त निकै डरलाग्दो विषय बनेको छ। आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्। अनलाइन सिर्जना र संसारमा रमाएका छन् र आफ्नै जीवनका सत्य र यथार्थलाई भ्रमित एवम् गलत किसिमले व्याख्या गरिरहेका छन्।

(युवल नु हरारी, एक्काइसौँ शताब्दीका लागि)

वास्तवमा अभाव, कठिनाइ र सङ्घर्षले कमजोरलाई बलियो र शक्तिशाली बनाउँछ तर जति धेरै सुविधा हुन्छ, त्यो सुविधाले बलियोलाई पनि कमजोर बनाउँछ। कसिलो सम्बन्धलाई पनि फितलो बनाइदिन्छ। हिजोका दिनमा चिठीपत्रले समाज जोड्ने काम गर्थे। अभाव, अप्ठ्याराबीचमा पनि सम्बन्ध गाढा थियो। यद्यपि यो प्रक्रिया निकै सुस्त र ढिला थियो। यस किसिमका चिठीपत्रको युगलाई दु्रत सञ्चारका रूपमा सामाजिक मिडियाले प्रतिस्थापन गर्‍यो र आज मानिसलाई एकापसमा जोड्ने सहज सुविधा प्रदान गर्‍यो।

यो सुखद कुरासँगै आज मानव मनोविज्ञानमा सामाजिक मिडिया , इन्टरनेट र अत्याधुनिक ग्याजेटहरू तानशाह जस्तै भएर स्थापित भएका छन्। यिनले मानिसलाई त जोडेका छन् तर समाजमा व्यक्तिहरू विघटन हुँदै गएका छन्। आस्था, विश्वास र सम्बन्ध भत्कँदै गएका छन्।

कुरा कहाँ बिग्रियो त?

सामाजिक मिडियाको प्रारम्भकालीन प्लेटफर्म (चौतारी) का रूपमा सन् २००४ देखि २००६ का बीचमा फेसबुक देखापरेको हो। अमेरिकन विश्वविद्यालयबाट विकसित फेसबुकले आफ्नो आगमनको छोटो समयमा नै युवाहरूका बीचमा लोकप्रियता हासिल गर्न सफल रह्यो। यस्तो सफलता हासिल गर्नुको मुख्य कारण यसले सजिलैसँग मानिसलाई एकापसमा जोड्न सक्यो, अन्तरक्रिया गर्न फोटो, समाचार र भिडियोहरू पोस्ट् गर्न सकियो, कसैले राखेका पोस्ट्हरूमा तुरुन्तै प्रतिक्रिया दिन तथा टिप्पणी गर्न सकिने सुविधाका कारण विश्वव्यापीरूपमा सामाजिक सञ्जालप्रतिको आकर्षण द्रुत गतिमा बढ्दै गयो। यसले धेरै प्रयोगकर्तालाई आफ्नो दुनियामा लामो समयसम्म व्यस्त राख्न सफल रह्यो।

साँच्चै नै फेसबुक, इन्स्ट्राग्राम र टिकटक जस्ता सामाजिक सञ्जाल धेरै प्रयोगकर्ताका टिप्पणी र प्रतिक्रियामा खेल्न पुगे। यस्ता टिप्पणी र प्रतिक्रियाहरू सकारात्मक र नकारात्मक दुवै किसिमका हुने भएतापनि यसले धेरै प्रयोगकर्ताका लागि सकारात्मक टिप्पणीहरूलाई आवश्यक प्रमाणीकरणका लागि खेलाउन थाल्यो। सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्तिहरू सबै एउटै किसिमका हुँदैनन्। कोही कोही त आफ्नो भन्दा अरूको मात्र चासो राख्ने, अरूको जीवनमा के भइरहेको छ भनेर अवलोकन गरिरहने पनि भेटिन्छन्। सामाजिक सञ्जालले व्यक्तिको व्यक्तिगत जीवन नै लिलामी गरिदियो  निजी जीवन र गोपनीयतामाथि यसले निर्मम प्रहार गरिदियो। मान्छे कहाँ छ, के गर्दैछ, सबै कुरा सामाजिक सञ्जालमा छरपस्ट हुन थाले। यसले सकारात्मक तथा नकारात्मक किसिमका सामग्रीहरू पोस्ट गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न थाल्यो, अझ भनौँ विरोधाभाषपूर्ण इमानदारिता यसको पहिचान बन्न पुग्यो। अहिले विश्वभरि ४.३ खर्ब मानिस विभिन्न सामाजिक सञ्जालमा जोडिएका छन् र ती प्रत्येक व्यक्तिले दैनिक औसत साढे दुई घण्टा सामाजिक सञ्जालमा आफ्नो समय खर्च गरिरहेका छन्।

भनिन्छ, कहिलेकाहीँ सुन्दरता पनि अभिशाप हुन्छ। सबैभन्दा सुन्दर फलमा कीरा पनि हुनसक्छ। सामाजिक सञ्जाल पनि अहिले यस्तै सुन्दर फलभित्रको कीरा बन्न पुगेको छ। आज यसले धेरै प्रयोगकर्ताको मनोविज्ञानमै परिवर्तन ल्याइदिएको छ।

लुका ब्राघिरीको अमेरिकन इकोनोमिक्स रिभ्यु (२०२२) मा प्रकाशित सोसल मिडिया र मानसिक स्वास्थ्य शीर्षकको भर्खर गरिएको अनुसन्धानमा सोसल मिडियाको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा पार्ने असर र नतिजालाई स्पष्टरूपमा व्याख्या गरिएको पाइन्छ। यस अनुसन्धानमा अमेरिकी विश्वविद्यालयहरूमा रहेका फेसबुक प्रयोगकर्ता र उनीहरूको मानसिक स्वास्थ्यमा गरिएको विस्तृत अध्ययनले फेसबुक संसारमा रहेका विद्यार्थी मानसिक रोगका लागि बढी संवेदनशील हुने तथा त्यस्ता विद्यार्थी डिप्रेसनका सिकार भइरहेको बढ्दो तथ्यलाई उजागर गरिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अरूको जीवनमा भ्रम देख्छन्। आफू र अरूबीचको सामाजिक सञ्जालको तुलनात्मक भ्रमले अरू पनि सत्य होइनन्, म पनि सत्य नभई भ्रम नै हो भन्ने आधारमा आफूलाई मूल्याङ्कन गरिरहेका हुन्छन्। यसले गर्दा व्यक्ति सत्य, निष्ठा र जीवन आदर्शबाट विचलित हुन पुग्छ र उनीहरूले जीवनका हरेक परिस्थितिमा हारेको महसुस गर्छन्। अरूले वास्तविक जीवनमा प्रगति गरिरहेका हुन्छन्, उनीहरू भने तिनै सामाजिक सञ्जालमा सार्वजनिक गरिएका अरूका सफलता र खुसीका कथाहरूमा रमाएर भ्रमित बनिरहेका हुन्छन् । साथै उक्त अनुसन्धानले सोसल मिडियाको प्रयोगले व्यक्तिले एकाग्र भएर सोच्ने, चिन्तन गर्ने क्षमता र स्तरमा पनि बाधा पु¥याएको तथ्य पनि औल्याएको थियो।

क्रूर एल्गोरिदम  

सामाजिक सञ्जालले प्रयोगकर्ताको मनोवैज्ञानिक आवश्यकताहरूलाई कसरी तुरुन्तै सम्बोधन गर्दछ भन्ने प्रश्न पनि जन्मन सक्छ। वास्तवमा प्रयोगकर्ताको मानसिक स्वास्थ्य जति कमजोर हुन्छ, इन्टरनेटले उनीहरूमाथि त्यति नै धेरै शक्ति दिइरहेको हुन्छ। विडम्बना, एल्गोरिदम (गणितीय नियम/प्रणाली) को अद्भूत परिणाम हो जसले इन्टरनेटलाई अधिक प्रयोगकर्तामैत्री बनाउँछ। यस आधारमा एल्गोरिदमलाई सामाजिक सञ्जालको जिन वा वंशका रूपमा बुझ्न सकिन्छ। आजको डरलाग्दो विषय के हो भने सोसल मिडिया संसारले तपाईँ के चाहनुहुन्छ ? के खोज्दै हुनुहुन्छ भन्ने कुरा पहिले नै थाहा पाइसक्छ र तपाईँ पनि त्यसमा मैनबत्तीको ज्वालामा पुतली जसरी होम्मिन पुग्नुहुन्छ। अझ यसमा विशेषगरी कमजोर व्यक्तिहरू डुब्न पुग्छन्। किनभने उनीहरूले आफूले नजानेका कुरा अरू कसैलाई सोधेमा आफ्नो कमजोरी अरूले थाहा नपाउन भन्ने चाहना हुन्छ । त्यसैले सामाजिक सञ्जालको एल्गोरिदमले तपाईँको सामाजिक मिडिया व्यवहारलाई मानव व्यक्तिले भन्दा पहिले धेरै नै चलाखीपूर्ण विश्लेषण गरिदिएको हुन्छ र प्रयोगकर्ता पनि एल्गोरिदम प्रभावको जादूमा मोहित हुन पुग्छ।

‘सामाजिक दोधार’ विषयक नेटफ्लिक्स वृतचित्रमा भनिएअनुसार प्रयोगकर्तालाई मदमस्त बनाउन र लतको विषपान गराउन सामाजिक मिडियाहरूको ठूलो भूमिका हुन्छ र यसै उद्देश्यलाई सफल बनाउनका लागि एल्गोरिदमहरूको सावधानीपूर्वक डिजाइन गरिएको हुन्छ। अनुसन्धानकर्ता ट्रिस्टन ह्यारीले एउटा डकुमेन्ट्रीमा कम्प्युटर प्रणाली आफ्नै उद्देश्य र लक्ष्य छन्, तिनले तपाईँ र तपाईँको मनोविज्ञानको प्रयोग गरेर तपाईँकै विरुद्धमा काम गरिरहेका हुन्छन् भन्ने तथ्य अघि सारेका छन्। यी विविध विषय र सन्दर्भबाट के बुझिन्छ भने एल्गोरिदमले मानवीय मनोविज्ञानमाथि तिलस्मी तरिकाले क्रूरतम आक्रमण गरिरहेको छ। हामीलाई पछ्याइरहेको छ, हामी नबुझेर वा बुझ पचाएर यसैलाई साथ र समर्थन गरिरहेका छौँ। वास्तवमा हामी किन यसरी घातक बाटोमा हिडिरहेका छौँ ? यो गम्भीर र सोचनीय विषय हो।

डिजिटल विश्राम

हामी यस्तो बेला र समयमा आइपुगेका छौँ कि अब मानसिकरूपमा स्वस्थ रहनका निम्ति डिजिटल विश्राम लिन नितान्त आवश्यक छ। वास्तवमा डिटक्सिङ भनेको अस्वस्थ लत र बानीबाट अस्थायीरूपमा भए पनि विश्राम लिनु हो। आजको परिवेशमा डिजिटलमुक्त जीवन बाँच्न त नसकिएला तर यसको अत्यधिक प्रयोग गर्नेहरूका लागि डिजिटल विश्राम झनै आवश्यक भएको छ।

जोसेफ एलखौरी एट अलद्वारा विश्वविद्यालयका विद्यार्थीबीच गरिएको सोसल मिडिया डिटक्सिफिकेसनसम्बन्धी अध्ययन (२०२१) मा सामाजिक सञ्जाल प्रयोगमा विश्रामको महŒवलाई चित्रण गरिएको छ। अध्ययनले सामाजिक सञ्जालमा धेरै समय बिताउनेहरूको शैक्षिक कार्यसम्पादन र शारीरिक क्रियाकलापमा नकारात्मक असर परेको कुरामा विश्वास नगर्दा पनि ४० प्रतिशत नमुना डिजिटल डिटक्सबाट गुज्रिएको देखाएको थियो।

नेपालमा सामाजिक सञ्जालमा आफ्नो राम्रो र नियन्त्रणपूर्ण संलग्नता भएका विद्यार्थीले आफ्नो धेरै समय अध्ययन केन्द्रित र रचनात्मक गतिविधिमा सामाजिक सञ्जाललाई उपयोग गरेकोे पाइन्छ।

अस्वस्थ आनीबानी, लत र व्यवहारले जब सीमा नाघ्छ, व्यक्तिको जीवन असन्तुलित हुन्छ र यसको असर सिंगो समाजमा पर्दछ। त्यसैले यस किसिमको लत र व्यवहारलाई सावधानीपूर्वक उल्ट्याउन आवश्यक छ। जसरी मदिरा वा लागुपदार्थ सेवनको लतले मस्तिष्कका तार, जालीलगायतका संरचनालाई विकृत र कुरूप बनाउने गर्दछ। त्यसरी नै सामाजिक सञ्जालको अधिक प्रयोगको लतले स्नायु प्रणालीलाई नै विकृत बनाइदिन्छ। यस्तो लतले स्वचालितरूपमा हाम्रो मानसिक स्वास्थ्य र सम्बन्धलाई बिगार्छ। व्यक्तिको एकाग्रता स्तरलाई कमजोर बनाउँछ र सबैभन्दा महŒवपूर्ण कुरा त जीवनलाई नै सङ्कुचित र साँघुरो बनाउँछ। तसर्थ स्वस्थ किसिमको व्यक्तिगत र सामाजिक जीवनका लागि सामाजिक सञ्जालबाट बेलाबेला विश्राम लिनु आवश्यक छ।

डिटक्सिङ अर्थात् विश्रामका लागि विभिन्न विधि र तरिका प्रयोग गर्न सकिन्छ। यीमध्ये ‘कोल्ड टर्की’ भनिने लोकप्रिय विधि प्रयोग गर्न सकिन्छ। यसमा बाध्यकारी लत र व्यवहारहरूलाई एक्कासि र पूर्णरूपमा बन्द गरिन्छ। लतका रूपमा प्रयोग गरिएका सामाजिक मिडियाका खाताहरू क्रमशः मोबाइल फोनबाट मेटाउँदै जाने र कम्प्युटरहरूमा मात्र प्रयोग गर्नेतर्फ लाग्नुपर्छ। मिडिया आबद्ध लतहरू घटाउँदै र हटाउँदै जानु सुरक्षित विकल्पको आधार हो भन्ने कुरा मनन गर्नुपर्छ।

डिजिटल विश्राम भनेको भर्चुअल संसारबाट मुक्त रहेर आमनेसामने भेटघाट र मित्रताको समयलाई महŒव दिनु हो। विभिन्न किसिमका उत्पादनमूलक कार्यहरूमा आफूलाई सक्रियतापूर्वक सहभागी गराउनु हो। जीवनका अनेक सम्भावना र विकल्पको खोजी गर्नु हो। त्यसैले जीवन नै ध्वस्त बनाउन सक्ने विष समानको सामाजिक सञ्जालको चक्रव्यूहबाट मुक्ति आजको समयको माग र आवश्यकता हो। यसो गरेमा व्यक्तिले आफूभित्र अन्तर्निहित शक्ति र खजानाको पहिचान गर्न सक्छ। कसैका अद्वितीय प्रतिभा र शोखहरूमा हार्दिकता र मिठास भर्न सक्छ र असल व्यवहारका माध्यमबाट व्यक्तिलाई पुनः स्वस्थ आकार प्रदान गर्न सक्छ। यो नै सार्थक जीवनको महŒवपूर्ण आधार हो।

प्रकाशित: १२ माघ २०८० ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App