पश्चिमी भेगमा सुरु भएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो। त्यसपछिको लगातार झरीले खुला आकाशमुनि तयार पारिएको नेपथ्यको मञ्च र त्यहाँभित्रका विद्युतीय संयन्त्रलाई जोगाउने चुनौती थपियो। अब, साँझको कन्सर्ट के होला ? यो चिन्ता र चासो कै बिच बेलुकीको ओभानोमा गोकर्णेश्वर कन्सर्ट निर्धारित समयमै सुरु भएर भव्य रुपमा सम्पन्न भएको छ।
अष्ट्रेलियाको एक महिना लामो यात्रा सकेर अनि सिड्नीमा साँढेपाँच हजार दर्शक अटाउने हलको सम्पूर्ण टिकट ‘सोल्ड आउट’ भएपछि त्यसै हलमा फेरिभरिएका दर्शकहरूमाझ दोश्रो सो गरेर फर्केको नेपथ्य यसरी मौसमी प्रतिकूलताकै बीचपनि स्वदेशका दर्शकहरू माझ उत्तिकै बलियो उपस्थिति दर्साउन सफल भएको छ।
अनलाइन र स्थानीय टिकट बुथबाट अग्रिम टिकट काटेका दर्शकको उपस्थितिलाई मध्यनजर गर्दै शनिबारको कन्सर्ट सुरु हुनुभन्दा दुई घन्टा अगावै अर्थात् बेलुकी साँढे चार बजे प्रवेशद्वारहरू खुला गरिएका थिए। त्यसपछि नेपथ्यको परम्परालाई निरन्तरता दिँदै निर्धारित समयमै अर्थात् घडीले ठिक साँढे छ बजाउने बित्तिकै कन्सर्ट सुरु भएको थियो।
ब्यान्ड मञ्चमा उभिनासाथ ‘कोशीको पानी’बाट सुरु भएको गीतहरूको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाहरूबाट अघि बढ्दै गयो। ब्याण्डको बाह्रौँ प्रस्तुति ‘गाउँ गाउँबाट उठ’ देखि भने कार्यक्रम तीव्र गतिका गीतहरूमा प्रवेश गर्यो।
प्रकाशित: ३१ चैत्र २०८१ १६:५० आइतबार