भक्तपुरमा मन्दिर निर्माणार्थ आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले महायज्ञ हुने भएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटस्थित बसिक्व टोलमा श्री बालकुमारी माताको परम्परागत शैलीको मन्दिर बनाउन सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागेको हो ।
स्थानीयका अनुसार श्री बालकुमारी माताको मन्दिर लगायत विभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ खरिद गर्न रु. १ करोड ६६ लाख र पित्तलको छानो छाउन ७३ लाखलगायत विभिन्न संरचना निर्माण सम्पन्न गर्न कल ३ करोड ५८ लाख रुपैयाँको लागत लाग्ने लागत अनुमान छ । तर यसका लागि बजेट अभाव भएकाले आर्थिक संकलन गर्न महायज्ञ गर्न लागिएको हो। यसका लागि स्थानीय श्रीराम श्रेष्ठको संयोजकत्वमा १५१ सदस्य रहेको महायज्ञ आयोजक मूल समारोह समिति गठन गरिएको छ ।
सम्मेलनमा संयोजक श्रेष्ठले महायज्ञबाट रु. २ करोड ५० लाख रकम संकलन गर्ने लक्ष्य रहेको जनाए । महायज्ञबाट संकलित रकमबाट एक वर्षभित्र मन्दिर लगायतको संरचनालाई पूर्ण रुपमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले जनाए । महायज्ञमा वृन्दावनबाट आमन्त्रण गरिएको अन्तर्राष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महाण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजबाट कथा वाचन हुने बताइएको छ।
महायज्ञका क्रममा १९ गते बिहान कलश यात्रा, समुद्घाटन १९ गते दिउँसो १ बजे गरिने, वैशाख २५ र २६ गते लक्ष्यवर्तीका प्रज्वलन, सामूहिक व्रतबन्ध, तुला दान लगायतका कार्यक्रम समेत रहेको जनाइएको छ ।
प्रकाशित: ३१ चैत्र २०८१ १८:२५ आइतबार