८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

अझै घट्यो काठमाडौंको तापक्रम

पुसको अन्तिम दिन आज काठमाडौंको तापक्रम अझै घटेको छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार गएको पुस २५ गते न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ । आजको उक्त रेकर्ड काठमाडौंका लागि यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।  

विभागमा आज साँझसम्म रेकर्ड भएको तापक्रमको विवरणअनुसार पुसको दोस्रो हप्ताबाट क्रमशः घटिरहेको तापक्रम आज थप घट्न पुगेको छ । जसका कारण दिउँसो घाम लाग्दा केही न्यानो महसुस भए पनि बिहान बेलुका अत्यधिक चिसो बढेको छ । वातावरण प्रदूषणले थप चिसो गराएको मौसमविद्ले बताएका छन् । चन्द्रागिरि तथा काठमाडौंका बढी चिसो हुने क्षेत्रमा तुसारो परेर बिहान जमिन सेताम्मे हुने गरेको छ ।  

विभागको अभिलेखअनुसार गएको पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्रीमा झरेको थियो ।  

पुस १७ गते तापक्रम घटेर ४ दशमलव ६ मा आएकामा १९ गते ४ दशमलव ५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम २५ मा २ दशमलव ४ मा झरेको छ । आज भने २ दशमलव ३ मा आइपुगेको छ ।  

विभागका अनुसार आज दिपायलमा २ दशमलव २, जुम्लामा माइनस ५ दशमलव ९, जोमसोममा १ दशमलव ५, दोलखाको जिरीमा माइनस १ दशमलव ६ ताप्लेजुङमा ४ दशमलव ४, सिमरामा ५ दशमलव ९ डिग्री रहेको छ ।  

विभागका सूचना अधिकारी दिनकर कायस्थले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिए । जसका कारण कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।  

देशका तराई भूभागमा बिहानपख लाग्ने हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभावपर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ ।  

 

प्रकाशित: ३० पुस २०८२ २२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App