इटहरी उपमहानगरपालिका– १० मा रहेको ल्यान्डफिल साइट आसपासका स्थानीयवासी दुर्गन्ध, धुलो र असुरक्षित फोहोर व्यवस्थापनका कारण समस्यामा परेका छन्।
इटहरी– १० का रोशन उरावका अनुसार फोहोर बोकेर आउने गाडीले सडकमा फोहोर झार्ने, सडकमा नियमित पानी नहाल्दा धुलो घरभित्रै पस्ने र ल्यान्डफिल साइटमा फोहोर सुरक्षित रूपमा व्यवस्थापन नगर्दा दुर्गन्ध फैलिने गरेको हो।
‘खाना छोपेर नराख्दा झिँगा पूरै भरिन्छ’, उनले भने, ‘अर्कातिर धुलो पूरै घरमा पस्दा ससाना नानी प्रायः बिरामी परिराख्छन्।’ सडकमा पानी छिट्न पटकपटक आग्रह गर्दा पनि उपमहानगरले अटेर गर्दै आएको छ। ‘उपमहानगरसँग गुनासो राख्न जाँदा इटहरीबाट यो वडा नं १० लाई हटाउँदा ढुक्क हुन्छ भन्छन्’, उनले भने।
इटहरीले वेस्ट एन्ड इनभारो म्यानेजमेन्टलाई फोहोर व्यवस्थापनको २०७५ वैशाख १४ दखि २० वर्षका लागि जिम्मा दिइएको थियो। फोहोर व्यवस्थापन गर्न वेस्ट एन्ड इनभारो कम्पनीले ६० प्रतिशत र ४० प्रतिशत बैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटारले लगानी गरेको थियो।
ल्यान्डफिल्ड साइटनजिकै बस्तीकी सुखनीदेवी सरदारले धुलोकै कारण घरभित्रका कपडा फोहोर भइहाल्ने गरेको बताइन्। उनले भनिन्, ‘सडकमा हरेक दिन पानी छिट्दा निकै राहत हुन्छ।’
सोही बस्तीकी सञ्जु सरदारले दुर्गन्धले बस्तीका बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर पर्दै आएको छ। ‘दुर्गन्धले मान्छे मर्न आँटेका छन्। गन्ध बढी नै आउँछ। जाँडोको बेला त ठिकै हो, गर्मीको बेला चौपट गन्ध आउने गरेको छ’, उनले भनिन्।
उनका अनुसार ल्यान्डफिल्ड राख्दा उपमहानगरले फ्याट्री बनाउँछु भनेर सहजै स्वीकार गरे पनि अहिले केही गरेको छैन।
अघिल्लो वर्ष स्थानीयले तीन दिनसम्म ल्यान्डफिल्ड साइड व्यवस्थित गर्न माग राखेर आन्दोलनसमेत चर्काएका थिए। उनका अनुसार त्यो बेला स्थानीय नेता मिलेपछि आन्दोलन रोकियो। ‘हामीले त चियाका भरमा भोकै बसेर आन्दोलन गर्यौं तर नेताहरू मिलेपछि आन्दोलन रोकियो’, उनले भनिन्।
इटहरी– १० का अध्यक्ष अवधेश चौधरीले पनि नजिकै मानव बस्ती भएकाले सुरुवातमै राख्न नहुने बताए। ‘व्यवस्थित गर्न सकिएको छैन। सबैभन्दा बढी पीडित त मै छु। ल्यान्डफिल्ड साइडभन्दा उत्तरतिर मेरो एक बिगाहा जग्गा छ। दुर्गन्धका कारण खेतमा सहजै काम गर्न सक्ने अवस्था छैन’, उनले भने।
फोहोर व्यवस्थापनसँगै ग्यास र जैविक मल उत्पादन गर्ने योजनासहित सञ्चालन गरिएको ल्यान्डफिल साइटमा सम्झौताअनुसार काम हुन नसक्दा स्थानीयवासीले समस्या भोग्नुपरेको हो।
उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाले सम्झौताअनुसार ग्यास र मल उत्पादन हुन नसकेको जनाएको छ। इटहरी उपमहानगरपालिका वातावरण अधिकृत पुष्पनारायण चौधरीका अनुसार जिम्मा लिएको कम्पनीले सहमतिअनुसार काम गर्नुपर्ने बताए। ‘कहिले यो समस्या कहिले त्यो समस्या देखाउनु भएन। सुरुवाती चरणमा ग्यास उत्पादन गरे पनि अहिले भएको छैन। फोहोरबाट मल पनि बनाउन सकिएको छैन’, उनले भने।
उनले अब फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीविरुद्ध कडाइ रूपमा प्रस्तुत हुने बताए।
इटहरीले नगरपालिका छँदा त्यतिबेलाको वडा नं १, ४ र ८ को मात्र फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको थियो। नगरपालिका छँदा केही समय तरहराको जंगलमा पनि फोहोर व्यवस्थापन गरेको थियो। त्यसपछि खनारमा पाँच वर्षका लागि दुई विघा १८ कट्ठा जग्गा लिजमा लिएर फोहोर व्यस्थापन गर्दै आएको थियो।
त्यो सम्झौता २०७२ सालसम्म गरिएको थियो तर सम्झौता सकिनु एक वर्षअघि नै स्थानीय दलका नेताले राजनीतीकरण गरेर खेप्नै नसक्ने गरी दुर्गन्ध फैलिएको भन्दै फ्याँक्न रोक लगाए। त्यसअघि झन्डै दुई वर्षसम्म इटहरी– ८ मा आफ्नै स्वामित्वमा रहेको पोखरीमा फ्याँक्ने गरेको थियो।
उमहानगरले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिए पनि ल्यान्डफिल साइडको व्यवस्था गर्नुपर्ने सर्त थियो, तर उपमहानगरपालिकाले ल्यान्डफिल साइडको व्यवस्था गर्न नसक्दा केही वर्ष इटहरी क्षेत्रकै विभिन्न स्थानमा फ्याँकिएको थियो।
इटहरी क्षेत्रबाट अहिले दैनिक ३५ देखि ४० टन फोहोर निस्कने गरेको छ। उपमहागनरका दुईवटा वडाका केही सीमित स्थानबाहेक अरू सबै वडाको फोहोर व्यवस्थापन गर्दै आएको जनाएको छ।
फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीले १५ हजार घर धुरीको फोहोर संकलन गरेर व्यवस्थापन गर्दै आएको जनाएको छ। फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीका प्रमुख देवराज भण्डारीका अनुसार ग्यास उत्पादन गर्न नसकेकाले अब मल उत्पादनमा केन्द्रित हुने गरी काम अघि बढेको बताए। ‘अहिले हामीले मल उत्पादनलाई फोकस गरिरहेका छौं। अब केही थोरै समय लाग्छ। जर्मन टेक्नोलोजी प्रयोग गरिएकाले मेसिन बिग्रिएकाले त्यसलाई बनाउन समय लाग्छ’, उनले भने।
साढे सात करोडको मेसिन र प्लान्ट गरेर १६ करोड खर्च गरे पनि अपेक्षा गरेअनुसारको सफलता भने प्राप्त गर्न नसकेको भण्डारीले बताए।
प्रकाशित: ७ मंसिर २०८३ १२:४५ सोमबार





-600x400.jpg)