पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको एकतामा नै देशको भविष्य निहित रहेको भन्दै समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध प्रयासको खाँचो औँल्याएका छन्।
नयाँ वर्ष २०८२ को अवसरमा आइतबार जारी भिडियो सन्देशमा उनले देशमा व्याप्त अशान्ति, अराजकता, भ्रष्टाचार र पलायनको अन्त्यका लागि सबैलाई संयम र सहकार्यमा जोड दिए।
“नेपाली–नेपालीबीच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको स्थिति नबनोस्, देशबासी कुनै पनि नाममा ध्रुवीकृत नहोऊन्,” उनले भने।
उनले हालैका हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोडबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नागरिक स्वतन्त्रताको सम्मान र प्रजातन्त्रमा जनगुनासो सुन्ने संस्कारको आवश्यकता रहेको बताए।
उनले नेपाली जनताको देशभक्ति र जागरुकतालाई सकारात्मक ठान्दै राजसंस्थाले राष्ट्रियता र प्रजातन्त्रमा योगदान दिएको उल्लेख गरे।
“मुलुकमा व्याप्त निराशा र असन्तुष्टिबाट मुक्त गर्न राजसंस्थाले सधैँ जनभावनाअनुसार काम गरेको छ,” उनले भने। उनले संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रप्रतिको आफ्नो मान्यता दोहोर्याए।
पूर्वराजाले विश्व परिवेशमा आत्मनिर्भर अर्थतन्त्रको महत्त्व जोड्दै स्वदेशी स्रोतसाधनको उपयोगबाट आन्तरिक अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए।
“युवा पलायन रोकेर स्वदेशमै स्वरोजगारको वातावरण बनाउनु आजको पहिलो आवश्यकता हो,” उनले भने। उनले विश्वभर छरिएका नेपालीलाई आफ्नो ज्ञान, सीप र पुँजी स्वदेशमै लगानी गर्न आह्वान गरे। “स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्छ,” उनले थपे।
उनले शिक्षा, स्वास्थ्य र प्रशासनमा आमूल सुधार, प्रविधिको उपयोग, सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको आवश्यकता औँल्याए। “हामी अस्थिरता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ, यसका लागि जनताको हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ,” उनले भने।
“संसार अघि बढिसक्यो, हामी वादको चक्रमा फसेका छौँ। नेपाल आमालाई केन्द्रमा राखेर विचार र कदम अघि बढाऔँ,” उनले आह्वान गरे। नयाँ वर्षले आशा र उत्साह ल्याओस् भन्दै उनले श्री पशुपतिनाथले सबैको कल्याण गरुन् भन्ने कामना गरे।
पढ्नुहोस् पूर्णपाठ
प्रिय, आत्मिय दाजुभाइ, दिदीबहिनीहरू, हामी नेपालीहरूको घरआँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ। नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेबसेका सम्पूर्ण नेपालहरूको सुख र शान्तिको मंगलमय शुभकामना।
हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको विदाइमा एउटा घनघोर निरासाका बिच हुने गरेको धेरै साल भयो। समाजका विभिन्न दल, वर्ग र जनसमूदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो।
तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ। केहीदिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो। त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो। नागरिक स्वतन्त्रता भन्दा ठुलो तन्त्र वा वाद हुँदैन।
वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुनखालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ।
वास्तवमा नेपाली जनतामा रहेको देशभक्ति भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ। देशमा विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ। मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मूक्त गर्न नेपालको राजसंस्थाले योगदान पुर्याउँदै आएको विदितै छ।
राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहीआएको छ। वर्तमानमा बदलिदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन भन्ने मन्जुरी सदैव स्थापित हुनुपर्दछ। राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अवको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो। यही नै राजनीतिको मूल धार हुनुपर्ने हो।
विश्वको बदलिदो परिस्थितिलाई मनन गर्दैै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपालजस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ।
स्वदेशी स्रोतसाधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन्। विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्न गाह्रो स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकि युवा शक्तिको श्रम र सीपलाई स्वदेशमै उपयोग गर्नुपर्दछ।
युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरि नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीका तन, मन र ध्यान त्यसैमा लगाउनुपरेको छ। विश्वभरी छरिएर रहेका नेपालीहरु अब एकताका सूत्रमा बाँधिन अब ढिला गर्नुहुँदैन।
आफ्ना ज्ञान, सीप र सामथ्र्य मात्र होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्दछ भन्ने भावना सबैमा जागृत गराउनुपरेको छ। प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवत खण्ड नेपाल सिँगार्न र विकास विगूल फँुक्न कसरी लाग्ने र लगाउने ? स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको छ।
जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भइसकेको छ। युगको प्रविधिको हो, सावधानपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठुलो टेवा पुग्नसक्नेछ।
सुशासन र भ्रष्टाचारमूक्त प्रशासन मुल नारा हुनुपर्दछ। हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छु । त्यसका लागि नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ। मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्ण हुँदै गएको औद्योगीक उत्पादन, बढ्दो ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्मसंस्कृति तथा जनस्तरमा बढेको निरासा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो। नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने अवस्थामा झांगिएको छ।
यो स्थितिमा नयाँ वर्षलाई उपलब्धिमूलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास आवश्यक भएको छ। नेपाली–नेपालीबिचमा द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद् मनस्थिति नबनोस्, देशबासीहरु कुनैपनि नाम र निहुँमा ध्रुविकृत नबनून् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौँ।
नेपालीको एकतामा नै नेपालको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसात् गरेका छौँ। सबैलाई यही वास्तविकतालाई आत्मबोध गर्नुपर्दछ भन्ने ठान्दछौँ। हाम्रा आह्वान हामी कसैको निजी स्वार्थपूर्तिका निमित्त होइन, कुनै खालको सैद्धान्तिक वाद र विचारको होइन। समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो।
आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो। अनि आफ्नो स्वतः अस्तित्व हामी आफै उठाउने हो। संसार धेरै अघि बढिसक्यो, तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फँसेका छौँ। नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ। हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ।
आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ। नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्। अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस्। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल।
यो पनि पढ्नुहोस्
असन्तुष्टिबाट मुक्त गर्न राजसंस्थाले योगदान दिँदै आएको छ: पूर्वराजा
प्रकाशित: ३१ चैत्र २०८१ १७:५२ आइतबार