१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

टिचिङमा आधुनिक बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुँदै

त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुन लागेको छ। अस्पतालका अनुसार एक देखि डेढ महिनाभित्र सो सेवा सुरु हुनेछ। नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने टिचिङ दोस्रो  अस्पताल हो।  

अस्पतालका अनुसार बोनम्यारो प्रत्यारोपण सेवा दिने निर्णय गरी प्रक्रिया अघि बढाइसकेको र बाँकी तयारी पुरा हुन कम्तीमा थप एक महिना लाग्छ। यो बिचमा बोनम्यारो प्रत्यारोपणको लागि अत्याधुनिक हल निर्माण कार्य भइरहेको छ। यो हलमा सङ्क्रमण नहुने गरी निर्माण गर्न लागिएको हो।

त्यसैगरी आवश्यक जनशक्ति र रिएजेन्टहरु खरिद प्रक्रिया अघि बढेको छ। यी आवश्यक तयारी पुरा भएपछि यो सेवा सुरु  हुनेछ।  

टिचिङमा सुरु हुने बोनम्यारो सेवा आधुनिक च्याम्वर सहित निर्माण भएकोले अस्पतालले यहाँ सुरु हुने सेवा आधुनिक प्रविधि सहितको रहेको दावी गरेको छ।अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेका अनुसार चार वटा च्याम्वर तयारी अवस्थामा छन्। ती मध्येमा एउटामा बोनम्यारो प्रत्यारोपण शल्यक्रिया कक्षको लागि प्रयोग हुनेछ भने बाँकी तीन वटामा प्रत्यारोपण गरेका बिरामीलाई राखिनेछ।

प्रत्यारोपण भएका बिरामीलाई कम्तीमा तीन साता यस्तो च्याम्वरमा राख्नु पर्छ। उनीहरूको प्रतिरक्षा क्षमता अत्यन्त कमजोर भएकोले कीटाणु रहित कोठामा राख्नु पर्छ। यी च्याम्वरलाई कीटाणु रहित बनाउन बाहिरको हावा छिर्न नमिल्ने र भित्री हेपाटो फिल्टर प्रविधि जडान गरिएको छ। ‘ यो च्याम्वरमा बाहिरी कीटाणु प्रवेश गर्न पाउँदैनन’ उनले भने। यो सेवा सञ्चालनको लागि अस्पतालका हेमाटोलोजिष्ट डा अन्जान श्रेष्ठ सहितको टोली हुनेछ।  

नेपालमा बोनम्यारोे प्रत्यारोपण सेवा सुरु गर्ने टिचिङ दोस्रो अस्पताल हो। यस अघि सिभिल अस्पतालमा यो सेवा सुरु भइसकेको छ। शिक्षण अस्पताल भएकोले सबै खालका विशिष्ट बिषयमा अध्यापन गराउने र बिरामीलाई सहज सेवा दिने उद्देश्यले बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न लागेको अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेले बताए। ‘ नेपालमै विशिष्ट सेवाका विषय अध्ययन गर्नेहरूको लागि सहज हुन्छ नै यो अस्पतालमा देशभरिबाट रिफर आउने बिरामीको लागि सहज हुन्छ’ उनले भने।टिचिङमै यो सेवा सञ्चालनमा आएपछि विदेशमा गएर खर्च हुने पैसा यतै रोकिने उनले बताए।

यो सेवाको लागि आवश्यक रिएजेन्ट बोनम्यारो प्रत्यारोपणको लागि उपकरण ल्याउने कम्पनीले लिनु पर्नेमा नलिएको कारण केही ढिला हुने सम्भावना रहेको निर्देशक काफ्लेले बताए। ‘अर्को कम्पनीसँग माग गरेका छौ, समय लाग्छ’ उनले भने।

प्रकाशित: ३ माघ २०८० १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App