२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालको ‘रेडियोलोजी’ विभागमा जनशक्ती अभाव

नेपालगन्जस्थित भेरी अस्पतालको ‘रेडियोलोजी’ विभागमा जनशक्ती अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्। जनशक्ती अभावका कारण उक्त विभागले सहज रुपले बिरामीलाई सेवा दिन सकेको छैन। अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन। यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखि बन्द अवस्थामा छ।

यसैगरी अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा पनि अस्पतालले सर्वसाधारणलाई पर्याप्त मात्रामा दिन सकेको छैन। अस्पतालले खरिद गरेर ल्याएको एमआरआई मेसिन जडानको प्रक्रियामै रहेपनि जनशक्तीको टुङ्गो लागेको छैन। एमआरआई मेसिन चलाउने टेक्निसियन नहुँदा सुचारु गर्न नसकिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालले एमआरआई मेसिनका लागि २ जना टेक्निसियन भर्ना गर्ने प्रक्रिया अगाडी बढाएको छ।

भेरीको एमआरआई सेवा समयमा सुचारु नहुँदा सर्वसाधारण नागरिकले निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भइरहेका छन्। यस्तै सिटी स्क्यान मेसिनका टेक्निसियन सञ्जिव मिश्रको काज फिर्ता भएपछि सेवा सुचारु गर्न सकिएको छैन। टेक्निसियन मिश्रको १५ दिन अघि मात्र स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको हो। अस्पताल स्रोतका अनुसार अल्ट्रासाउण्डमा हाल ४ जना चिकित्सकले ड्युटी गर्छन्। यी मध्ये २ जना नेपाल सरकारको स्थायी दरबन्दीमा कार्यरत रहेको र एकजना नेपाल सरकारको करार सेवामा तथा अर्का एक जना इन्टर्नसिप चिकित्सक रहेको बताइएको छ।

उनीहरूले पालैपालो बिरामीको भिडियो एक्स–रे गर्दै आएका छन्। तर, बिरामीहरू दैनिक रुपमा अपेक्षाकृत रुपले अल्ट्रासाउण्ड सेवा पाउन नसकेको गुनासो गर्छन्। ‘तीन दिनदेखी भिडियो एक्स–रे गराउनका लागि भेरी अस्पतालमा धाईरहेको छु। तर, यहाँ पालो पाउन निकै मुस्किल हुँदो रहेछ’ बाँके बैजनाथका टिकाराम रिजालले नागरिकसँग भने ‘भेरीको अल्ट्रासाउण्डमा धेरै सुधार गर्न जरुरी देखियो।’  

भेरी अस्पतालको निर्माणाधिन एमआरआई कक्षको अनुगमन गर्दै अध्यक्ष बीरेन्द्रबहादुर शाह ।

अस्पतालको एक्सरे सेवा पनि नियमित हुँदैन। कहिले काहीँ बिरामीको एक्स–रे गर्दै गर्दा मेसिनले काम गर्न छाड्ने गरेको सर्वसाधारण बताउँछन्। भेरी अस्पताल विकास समितिको नेतृत्व भर्खरै परिवर्तन भएको छ। विकास समितिको जिम्मेवारी सम्हालेपछि अध्यक्ष बीरेन्द्रबहादुर शाहले केही सुधारका प्रयास गरिरहेका छन्। अस्पतालको रेडियोलोजी विभागलाई नयाँ योजनासहित सञ्चालन गर्ने क्रममा विकास समिति रहेको उनले बताए।

‘अस्पतालमा एमआरआई मेसिन आएको दुई महिनाजति भयो, एमआरआई र सिटी स्क्यान मेसिन चलाउने दुई जना टेक्निसियनलाई भर्ना गर्ने प्रक्रिया अगाडी बढाईसकेका छौं, अहिलेसम्म पाँच जनाको निवेदन आईसकेको छ,’ उनले भने ‘जतिसक्दो चाडो एमआरआई र सिटी स्क्यान मेसिन चलाउँछौं।’ बिरामीको चाप धेरै बढेको हुँदा अल्ट्रासाउण्डलाई पनि व्यवस्थित गर्ने योजना रहेको अध्यक्ष शाहले सुनाए। ओपिडीमा हुने भिडभाड व्यवस्थित गर्न टोकन प्रणाली लागु गर्ने अस्पतालको तयारी रहेको बताए। अस्पतालको समग्र विभागको आन्तरिक सुधार सहित व्यवस्थापन गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. संकेत रिसालले बिरामीको चाप अनुसार जनशक्ती अपुग रहेको बताए। ‘रेडियोलोजी विभाग भनेको वरिष्ठ विशेषज्ञ बस्ने ठाउँ हो, बिरामीको चाप अनुसार यहाँ जनशक्ती पुगेकै छैन, भएका जनशक्तीको पनि काज फिर्ता भयो,’ उनले भने। अस्पतालको ओपिडी कक्षमा दैनिक एक हजारदेखि एक हजार दुई सयको हाराहारीमा बिरामी आउने गरेको निमित्त मेसु रिसालले जानकारी दिए।  

अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. विश्वनाथ शर्माले एकातिर बिरामीको चाप, अर्कोतिर जनशक्ती अभावका कारण सेवा दिन कठिनाई भइरहेको बताए। ‘अहिले रेडियोलोजी विभागमा धेरै समस्या छ,’ उनले भने ‘जनशक्ती बढाउन अस्पताल प्रशासनलाई हामीले आग्रह गरिरहेका छौं।’ डा. शर्माले एमआरआई मेसिन आएपनि ‘इन्स्टलेशन’ प्रक्रियामा रहेको र एक जना पनि टेक्निसियन नभएपछि अस्पतालले जनशक्ती आब्हान गरेको बताए।  

यस्तै अल्ट्रासाउण्ड (भिडियो एक्सरे) मा आफूसहित डा. सन्देश देवकोटाले सेवा दिइरहेको उनले सुनाए। सिटी स्क्यानमा कार्यरत पाँचौ तहका टेक्निसियनको काज फिर्ता भएपछि दुई सातादेखी बन्द अवस्थामा रहेको शर्माले बताए। ‘नियम अनुसार अल्ट्रासाउण्डमा कम्तिमा ४ जना हुनुपर्ने हो, सिटी स्क्यान र एमआरआईमा कम्तिमा पनि ३÷३ जना हुनुपर्ने हो र एक्सरे÷स्पेशल प्रोसिडरका लागि २ जना हुनुपर्ने हो,’ डा. शर्माले भने ‘कतैपनि पनि पर्याप्त मात्रामा जनशक्ती छैनन्।’

प्रकाशित: २१ भाद्र २०८० ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App