१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

पानीजहाज र रेलमा प्रगति, तर शिक्षा–स्वास्थ्यमा कम ध्यान: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पानीजहाज र रेलजस्ता ठूला संरचनामा प्रगति भए पनि जनताको शिक्षा र स्वास्थ्यमा पर्याप्त ध्यान नपुगेको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै उनले सरकारले अहिले स्वास्थ्य क्षेत्रमा ध्यान दिइरहेको जानकारी दिए।

मन्त्री गुरुङले सुनकोशी र नारायणीमा साना स्टिमर सञ्चालन भइरहेको र जनकपुरमा रेल चलेको उल्लेख गरे। “पानीजहाज चलाउन सकिँदैन भनिएको थियो, तर अहिले चलिरहेको छ। हाम्रै पानीजहाज ल्याउने प्रक्रिया भने अगाडि बढ्न सकेन,” उनले भने।

पूर्व–पश्चिम राजमार्गको जोगबेनी र रक्सौल नाकामा छ लेनका विशाल संरचना निर्माण भइरहेको उनले बताए। यस्ता ‘मेगा’ संरचनामा परिवर्तन देखिए पनि जनताको दैनिक जीवनसँग जोडिएको शिक्षा र स्वास्थ्यमा कम ध्यान पुगेको उनको निजी मूल्याङ्कन छ।

उनले विगतमा जनता आवास कार्यक्रममार्फत घरबारविहीन र अल्पसङ्ख्यकले घर पाएको र सामाजिक सुरक्षाका काम भएको सुनाए। तर, शिक्षा र स्वास्थ्य जटिल बनेको स्वीकार गर्दै उनले भने, “अब ज्येष्ठ नागरिक र बालबालिकाको निःशुल्क स्वास्थ्य, किशोरीको क्यान्सर उपचारजस्ता कुरामा ध्यान दिइरहेका छौं।” मेगा संरचनासँगै अस्पताल निर्माणलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

मन्त्री गुरुङले पालिका र प्रदेश अस्पतालहरू अधुरो रहेको, भवन र आधुनिक सामग्रीको अभाव रहेको तथा जनशक्ति व्यवस्थापन मुख्य चुनौती बनेको बताए।

“गाउँका डाक्टर–नर्स विदेश गइसकेका छन्। उनीहरूलाई राम्रो सुविधा र काम गर्ने वातावरण चाहिन्छ। यी विषयमा सरकारको ध्यान गएको छ,” उनले थपे।

प्रकाशित: २७ चैत्र २०८१ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App