नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं-१ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा उनले फागुन २१ गते हुने निर्वाचनलाई पार्टीले आत्मसात गरेको भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए।
‘जेन-जी आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ, यस्तो अवस्थामा निकासका बाटो भनेकै निर्वाचन हो। हाम्रो पार्टीले औपचारिक निर्णय गरेर निर्वाचनमा जाने भनेको छ, अब सरकारले अलमल नगरी चुनावको वातावरण बनाउनुपर्छ’, नेता बस्नेतले भने।
उनले नेपालको संविधानले शिक्षा र स्वास्थलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले त्यसको निःशुल्क व्यवस्था गरिनुपर्नेमा जोड दिए। आफूले स्थानीय जनताको आवश्यकताका आधारमा सधैँ विकासको राजनीति गरिरहेको र आगामी दिनमा पनि त्यसमा क्रियाशील रहने प्रतिबद्धता जनाए।
पार्टीका जिल्ला सचिव भक्तध्वज बोहराले फागुन २१ गतेको लागि घोषणा भएको निर्वाचनका लागि यहाँ आयोजना गरेको सभा देशभरकै पहिलो रहेको जानकारी दिए।
उनले निर्वाचनमा हार र जितभन्दा पनि जनताप्रतिको विश्वासलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको बताए।
महासमिति सदस्य डा. प्रेमध्वज लामा र भोला बोहरा, नेता यास्मिन ढुङ्गाना, जिल्ला उपसभापति दोर्जे लामा, पूर्वजिल्ला सभापति भूपेन्द्रबहादुर थापा, सिन्धुपाल्चोक क्षेत्र नं-२ का सचिव विष्णु घोरासैनी, मेलम्ची नगर सभापति बसन्त गुरुङ, बलेफी गाउँपलिकाका पूर्वअध्यक्ष केदार क्षेत्री, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारी, क्षेत्र नं-१ का सचिव सञ्चवीर तामाङलगायतले आफ्नो धारणा राखेका थिए।
प्रकाशित: १२ पुस २०८२ २२:११ शनिबार





