७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा हिमपहिरोबाट ८ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियास्थित सिएरा नेभाडा पर्वत शृंखलामा मंगलबार हिमपहिरो जाँदा १५ जनाको समूह फसेको छ। उक्त समूह ‘ब्ल्याकबर्ड माउन्टेन गाइड्स’ कम्पनीसँग तीन दिने गाइडेड यात्रामा निस्किएको थियो। दिउँसो करिब ११ः३० बजे आएको हिमपहिरोले उनीहरूलाई चपेटामा पारेको हो।

अधिकारीहरूका अनुसार यस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन्, जसलाई मृत मानिएको छ। बुधबार नेभाडा काउन्टी शेरिफ कार्यालयका शेरिफ श्यानन मुनले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। मृतकमध्ये कम्पनीका तीन जना गाइड पनि रहेका छन्। कुल मृत र बेपत्ता व्यक्तिमध्ये सात महिला र दुई पुरुष रहेका छन्।

मंगलबार साँझ ६ जनालाई सकुशल उद्धार गरिएको थियो। यो अमेरिका मा पछिल्लो ४५ वर्षकै सबैभन्दा घातक हिमपहिरो दुर्घटना मानिएको छ। यसअघि सन् १९८१ मा माउन्ट रेनियर (वाशिङ्टन) मा भएको हिमपहिरोमा ११ जनाको ज्यान गएको थियो।

दुर्घटनाको समयमा क्षेत्रमा भारी हिमपात भइरहेको थियो। पछिल्लो ३६ घण्टामा २ देखि ३ फिटसम्म नयाँ हिउँ परेको थियो भने प्रतिघण्टा २–४ इन्चसम्म हिउँ झरिरहेको थियो। तीव्र हावाका कारण ‘ह्वाइटआउट’ अवस्था सिर्जना भएको थियो, जसका कारण हेलिकप्टर उडान सम्भव भएन र स्थलमार्गबाट उद्धार कार्यमा समेत कठिनाइ भएको थियो।

सिएरा एभालाञ्च सेन्टरले यसअघि नै उच्च हिमपहिरो जोखिमको चेतावनी जारी गर्दै यात्रा नगर्न सल्लाह दिएको थियो। मृतकहरूको शव हिउँमुनि दबिएको अवस्थामा रहेको र मौसम खुलिएपछि निकालिने जनाइएको छ। पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइनेछ।

शेरिफका अनुसार यति खतरनाक अवस्थामा समूहलाई किन पठाइयो भन्ने विषयमा कम्पनीको निर्णयमाथि अनुसन्धान भइरहेको छ। कम्पनीले भने यात्रामा सहभागी हुन राम्रो शारीरिक तन्दुरुस्ती आवश्यक पर्ने जनाएको छ। दुर्घटना डोनर पास नजिक, लेक ताहोको उत्तर–पश्चिम क्षेत्रमा भएको हो, जहाँ इन्टरस्टेट–८० राजमार्गसमेत बन्द गरिएको थियो।  एजेन्सी

प्रकाशित: ७ फाल्गुन २०८२ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App