१० पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

कोशी पर्यटन वर्ष २०८२ शुभारम्भ

कोशी पर्यटन वर्ष २०८२ शुभारम्भ गरिएको छ । कोशी प्रदेशमा वार्षिक १० लाख पर्यटक भित्राउने लक्षसहित पर्यटन वर्ष शुभारम्भ गरिएको हो ।

तेह्रथुमको तिनजुरे मिल्के  स्थित आरआर गार्डेनमा बुधबार आयोजित विशेष कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी पर्यटन वर्षको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्त्वपूर्ण टेवा पुर्‍याउने  बताए । कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्राउन सकिने भएकाले यस तर्फ  प्रदेश सरकारले ध्यान दिनुपर्ने सिंहले बताए । पर्यटनको माध्यमबाट देशमा बढ्दै गएको आर्थिक शिथिलता लाई कम गर्न सकिने र पर्यटनबाटै नेपालको समृद्धि धारणा राखे । मुलुक सङ्घीयतामा गएको र यसबाट आम रुपमा जीवन स्तर वृद्धि भएको बताउँदै उनले २०४६ साल यताका विकासका तथ्य तथ्याङ्क हेर्न सुझाव दिए । कतिपयले विकास नै नभएको  भाष्य सिर्जना गरेर नकारात्मकता फैलाउने प्रयत्न गरेको सिंहको भनाई छ। आग्रह पूर्वाग्रह भन्दा तथ्यमा विकास हेर्नु पर्ने सिंहले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न  पर्यटन वर्ष घोषणा गरिएको  बताए । कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुँजी निर्माण गरिने बताए ।  स्थानीय तहको सहकार्यमा कोशी प्रदेशमा पर्यटनको विकास गर्दै नमुना प्रदेश बनाउने मुख्यमन्त्री कार्कीको भनाई छ । ‘सबै जातजाति ,धर्म संस्कृतिको जगेर्ना र त्यसको संरक्षणमा अघि बढ्दै कोशी प्रदेशलाई नमुना प्रदेश बनाउने योजना छ’ मुख्यमन्त्री कार्कीले भने ।

प्रदेशमा माङसेबुङ जस्तो पवित्र स्थल रहेको साथै साहसिक पर्यटकको पनि सम्भावना रहेको चर्चा गर्दै उनले यी सबैलाई ध्यान दिएर अघि बढ्नुपर्ने  बताए । कोशी  प्रदेशमा बाराह क्षेत्र, हलेसी र माङ्सेबुङ जस्तो विशिष्टीकृत धार्मिक क्षेत्र रहेको जानकारी दिँदै उनले धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिने बताए ।  

प्रकाशित: २७ चैत्र २०८१ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App