११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

भैरव हिटी उत्खनन गर्दा ढुङ्गेधारा भेटियो

काठमाडौं महानगरपालिका-७, गंगाहिटी मार्गमा अवस्थित अठारौँ शताब्दीको भैरव हिटीको उत्खननका क्रममा ढुङ्गेधारा र मुख्य पर्खाल (माअप्पा) फेला परेको छ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बुधबार सामाजिक सञ्जालमार्फत उत्खननका क्रममा ढुङ्गेधारा र मुख्य पर्खाल भेटिएको बताएका हुन्।

चैत १० गतेदेखि सुरु भएको उत्खननमा हालसम्म ७ फिट गहिराइसम्म खनिएको छ।

उत्खनन कार्य सम्पदा तथा पर्यटन विभाग र वडा नं. ७ का जनप्रतिनिधिको संयुक्त पहलमा भएको हो।

स्थानीय र जनप्रतिनिधिले पुरिएको अवस्थामा रहेको हिटीबारे जानकारी दिएपछि विभागले अनुगमन गरेको थियो।

अनुगमनका क्रममा हिटीमाथि दुईतल्ले पक्की संरचना बनेको पाइएको थियो। उक्त भवनको माथिल्लो तल्लामा टोल सुधार समितिको कार्यालय र तल्लो तल्लामा सटरहरू सञ्चालनमा थिए। विभागले टोल सुधार समितिसँग समन्वय गरी संरचना भत्काएर उत्खनन सुरु गरेको हो।

वडा स्तरीय दिगो विकास उपभोक्ता समितिसँग सम्झौता गरी विभागले उत्खनन र साइड क्लियरेन्सको कार्यादेश दिएको थियो। उपभोक्ता समितिले साइड क्लियरेन्सको काम सम्पन्न गरिसकेको छ।

दैनिक १० जना कामदारको संलग्नतामा उत्खनन जारी छ। पुराना अभिलेखअनुसार, भैरव हिटीको निर्माण अठारौँ शताब्दीमा भएको हो भने वि.सं. १९४० मा यसको जीर्णोद्वार गरिएको थियो। अभिलेखमा धाराको लम्बाइ २५ फिट ३ इन्च र चौडाइ १५ फिट उल्लेख छ।

वि.सं. २०३६ मा काठमाडौं महानगरपालिकाले तयार पारेको अभिलेखमा ढुङ्गेधाराको पूर्वतर्फ बारी, पश्चिमतर्फ गल्ली र उत्तर तथा दक्षिणतर्फ पनि बारी रहेको उल्लेख छ।

प्रकाशित: २७ चैत्र २०८१ १८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App