क्यानडाको टोरन्टोमा एक भारतीय विद्यार्थीको हत्या भएको छ। प्रहरीले बुधवार दिएको जानकारी अनुसार गोलीकाण्डमा २० वर्षीय शिवांक अवस्थीको हत्या गरिएको हो। टोरन्टोस्थित भारतीय वाणिज्य दूतावासले शिवांक अवस्थीको मृत्युमा शोक व्यक्त गरेको छ।
भारतीय दूतावासले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनेको छ, ‘टोरन्टो विश्वविद्यालयको स्कारबोरो क्याम्पस नजिकै भएको गोलीकाण्डमा युवा भारतीय विद्यावारिधि विद्यार्थी शिवांक अवस्थीको दुखद मृत्युप्रति हामी गहिरो शोक व्यक्त गर्दछौँ। दूतावास यस कठिन समयमा शोकसन्तप्त परिवारसँग सम्पर्कमा छ र आवश्यक सबै सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ।’
प्रहरीले गोली चलेको खबर पाएलगत्तै घटनास्थलमा पुगेको बताएको छ। प्रहरीले गोली लागेर घाइते एक पुरुषलाई भेटेका थिए, जसको घटनास्थलमै मृत्यु भयो।
केही दिनअघि टोरन्टोमा अर्की भारतीय नागरिक ३० वर्षीया हिमांशी खुरानाको हत्या भएको थियो। प्रहरीले हिमांशीका साथी ३२ वर्षीय अब्दुल घाफुरीलाई अभियुक्त मानेको छ। दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: ११ पुस २०८२ ०९:५२ शुक्रबार





