आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवनमा ३४ मतदान केन्द्र थप गरिएको छ। स्थानीय तह र जिल्ला स्तरबाट प्राप्त सिफारिसका आधारमा केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार चितवनमा हाल १ सय ६२ मतदान स्थल र ४ सय ९४ मतदान केन्द्र कायम गरिएका छन्। यसअघि २०७९ सालको निर्वाचनमा जिल्लामा ४ सय ६० मतदान केन्द्र थिए।
२५ स्थल अति संवेदनशील
जिल्ला सुरक्षा समितिले २५ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ। प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका संयोजक गणेश अर्यालका अनुसार ४४ संवेदनशील र ९३ अति संवेदनशील स्थान तोकिएका छन्। भूगोल, मतदाता संख्या, विगतमा भएका घटना र सम्भावित अवस्थालाई आधार मानेर वर्गीकरण गरिएको उनले बताए।
“भूगोल, मतदाता संख्या, विगतमा घटेका घटना र वर्तमान जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाएका छौँ,” अर्यालले भने, “मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दछौँ।”
तीन तहको सुरक्षा घेरा
निर्वाचनलाई सुरक्षित बनाउन एकीकृत सुरक्षा योजना लागू गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ। सबै सुरक्षाकर्मीलाई आवश्यक तालिम दिइसकेको जनाइएको छ।
मतदाता शिक्षा र तयारी पूरा
निर्वाचन सम्पन्न गर्न कर्मचारीलाई तालिम दिइसकिएको छ भने मतदाता शिक्षा अभियान सञ्चालन गरिएको छ। कार्कीका अनुसार ७ स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा स्वयंसेवकको अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ। जिल्लाका ९८ वडामा मतदाता शिक्षा स्वयंसेवक नियुक्त गरी परिचालन गरिएको छ।
निर्वाचनका लागि ३७ प्रकारका सामग्री जिल्लाबाट खरिद गरिएको छ भने १४ प्रकारका सामग्री निर्वाचन आयोगले उपलब्ध गराएको छ।
मतगणना स्थल तयारी
निर्वाचनपछि मतगणना स्थलको तयारी पनि गरिएको छ। तारबार र सीसी क्यामेरा जडानको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
क्षेत्र नम्बर १ को मतगणना खैरहनीस्थित भवानी शंकर कलेजमा, क्षेत्र नम्बर २ को उद्योग संघको प्रदर्शनी केन्द्रमा, क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुनेछ।
४ लाख ४२ हजार बढी मतदाता
चितवनमा कुल ४ लाख ४२ हजार ८२ मतदाता छन्। जसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष र २ जना अन्य मतदाता रहेका छन्। साथै ३ हजार १ सय ८५ अस्थायी मतदाता छन्, जसमा १६२ जना कारागारमा रहेका कैदीबन्दी छन्। उनीहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन्।
बैंक खाता र घोषणापत्र
जिल्लाका ६४ उम्मेदवारमध्ये ३९ जनाले बैंक खाता खोल्न सिफारिस लगेका छन् भने २१ जनाले खाता खोलेको जानकारी निर्वाचन कार्यालयलाई दिएका छन्। साथै १२ राजनीतिक दलले आफ्नो घोषणापत्र बुझाएका छन्।
चितवनमा केन्द्र थप र कडा सुरक्षा व्यवस्थासँगै निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ। अब मतदाताको सहभागिताले नै परिणामको दिशा तय गर्नेछ।
प्रकाशित: १६ फाल्गुन २०८२ २१:२६ शनिबार



-600x400.jpg)

