श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङको आमसभाको भोलिपल्ट नेकपा (एमाले)ले धरानमा शक्ति प्रदर्शन गरेको छ। चुनाव मिति नजिकिँदै गर्दा साम्पाङले शुक्रबार कोशी प्रदेशभरबाट कार्यकर्ता उतारेर आमसभा गरेपछि एमालेले शनिबार क्षेत्र नम्बर १ का विभिन्न स्थानबाट छुट्टाछुट्टै र्याली निकाल्दै धरानको भानुचोकमा शक्ति प्रदर्शनसहित आमसभा आयोजना गरेको हो।
सभामा सहभागी एमाले नेताहरूले सुनसरी–१ मा पुनः इतिहास दोहोर्याउने दाबी गरेका छन्।
२८ उम्मेदवार प्रतिस्पर्धामा
सुनसरी क्षेत्र नम्बर १ मा यसपटक २८ जना उम्मेदवार चुनावी मैदानमा छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँगै एमालेबाट टीका माङ्ग्ले लिम्बु, नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा (सरिन) तामाङ, नेकपाबाट सूर्यबहादुर (मनोज) भट्टराई, उज्यालो पार्टीबाट डम्बर लावती (जेन्टल) र राप्रपाबाट उद्धव श्रेष्ठ प्रतिस्पर्धामा छन्।
चुनावी सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले आगामी निर्वाचनलाई संविधान कार्यान्वयन र राजनीतिक स्थायित्वसँग जोडिएको बताए।
“फागुन २१ गतेको निर्वाचन देश बनाउने कि भत्काउने भन्ने जनमत संग्रहका रूपमा छ। राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण एमालेको प्राथमिकता हो,” उनले भने।
संविधानको पूर्ण कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न नियमित र निष्पक्ष निर्वाचन आवश्यक रहेको उनले बताए।
एमालेका उम्मेदवार टीका माङ्ग्ले लिम्बुले आफू इमान्दारीपूर्वक देखिने, सुन्ने र नागरिकले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुनसरी–१ को चुनावी इतिहास
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०४८ सालमा चुनाव जितेपछि सुनसरी–१ मा एमालेको प्रभाव देखिँदै आएको छ। २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा एमाले विजयी भएको थियो।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले क्षेत्र जिते पनि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेले पुनः ‘कमब्याक’ गरेको थियो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमाले नै विजयी भयो।
२०७९ सालको निर्वाचनमा भने एमालेसँग तालमेलमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई विजयी भएका थिए।
यस क्षेत्र नम्बर १ मा यसपटक १ लाख ५० हजार ३९३ मतदाता रहेका छन्।
धरानमा आमसभा र शक्ति प्रदर्शनसँगै सुनसरी–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
प्रकाशित: १६ फाल्गुन २०८२ २१:३१ शनिबार





