अमेरिकाको टेनेसीमा १८ वर्षको उमेरमा गरेको अपराधमा दोषी ठहर भएकी क्रिस्टा गेल पाइकको सजाय कार्यान्वयन हुनुभन्दा करिब एक घण्टा अघि रोकिएको छ।
पाइकलाई बुधबार सजाय कार्यान्वयन गर्ने तयारी थियो। तर छैटौं सर्किट अमेरिकी पुनरावेदन अदालतले २-१ को मतले सजाय रोक्दै उनको बाल्यकालमा भएको यौन दुर्व्यवहार र बलात्कारको इतिहासलाई सजाय सुनाउँदा पर्याप्त रूपमा विचार गरिएको थियो कि थिएन भन्ने विषयमा समीक्षा गर्न आदेश दिएको हो।
अहिले ५० वर्षकी पाइकलाई सन् १९९५ मा नक्सभिलस्थित जागिर तालिम केन्द्रमा १९ वर्षीया सहपाठी कोलिन स्लेमरको मृत्यु भएको घटनामा दोषी ठहर गरिएको थियो। पाइकका तत्कालीन प्रेमी पनि घटनामा दोषी ठहर भएका थिए।
पाइकले आफ्नो संलग्नता अस्वीकार गरेकी छैनन्। उनका कानुनी प्रतिनिधिले भने घटना हुँदा उनी १८ वर्षकी रहेको, मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको र बाल्यकालदेखि गम्भीर दुर्व्यवहार भोगेको विषयलाई सजाय निर्धारण गर्दा पर्याप्त रूपमा विचार नगरिएको बताए।
घटनापछि पाइकमा बाइपोलर डिसअर्डर र पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर रहेको पत्ता लागेको थियो। आफ्नो माफी याचिकामा उनले आफूले गरेको घटनाको गम्भीरता बुझ्न धेरै वर्ष लागेको बताएकी थिइन्।
स्लेमरकी आमा मे मार्टिनेजले भने छोरीको मृत्युको घटनामा पाइकलाई दिइएको सजाय कार्यान्वयन हुनुपर्ने बताउँदै आएकी छन्। उनले दशकौंदेखि त्यसको प्रतीक्षा गरिरहेको बताएकी थिइन्।
पाइकको सजाय कार्यान्वयन भएको भए टेनेसीमा कम्तीमा २०० वर्षपछि मृत्युदण्डको सजाय पाउने पहिलो महिला हुने थिइन्। अमेरिकामा महिलालाई यस्तो सजाय दिने गरेका घटना दुर्लभ छ। सन् १९७६ यता अमेरिकामा १८ महिलालाई मृत्युदण्ड दिइएको छ।
अहिले टेनेसीका वकिलले पुनरावेदन अदालतको आदेशविरुद्ध अमेरिकी सर्वोच्च अदालतमा अपील गरेका छन्। त्यसैले पाइकको मुद्दामा अब सर्वोच्च अदालतको निर्णय महत्वपूर्ण हुनेछ। एजेन्सी
प्रकाशित: १४ आश्विन २०८३ २२:०५ बुधबार





