भारतका विदेशमन्त्री एस. जयशंकरले युक्रेन र इरान-खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण आगामी महिनाहरूमा ठूलो खाद्य संकट आउन सक्ने चेतावनी दिएका छन्।
उनले यी द्वन्द्वले ‘ग्लोबल साउथ’ अर्थात् विकासशील राष्ट्रका अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरिरहेको बताए। सोमबार न्युयोर्कस्थित ‘एसिया सोसाइटी’मा आयोजित कार्यक्रममा बोल्दै जयशंकरले प्रमुख अन्न निर्यातकर्ताबाट हुने ढुवानी, विशेषगरी कालो सागर हुँदै हुने ढुवानीमा आएको अवरोधले खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको बताए। साथै, उनले विश्वले ठूलो मल अभावको सामना गरिरहेको र पश्चिम एसिया तथा रुसका प्रमुख मल उत्पादक प्रभावित भएको बताए।
जयशंकरले ऊर्जा बजार पनि अहिले ‘अत्यन्तै तनावपूर्ण’ अवस्थामा रहेको बताए। तेल आपूर्तिमा आएको अवरोध र त्यससँग जोडिएको राजनीतिक तनावले बजारमा थप जटिलता ल्याएको र तेलको मूल्य बढाइरहेको उनको भनाइ छ। ‘तेल आपूर्तिको सुरक्षा र तेल आपूर्तिको राजनीति एकअर्कासँग जोडिएका छन्। यी दुवैले दोहोरो संकट वा बढ्दो संकट सिर्जना गरिरहेका छन्,’ उनले बताए।
खाद्य संकटबारे बोल्दै जयशंकरले केही प्रमुख अन्न निर्यातकर्ताले आफ्नो उत्पादन विश्व बजारमा पठाउन नसक्ने अवस्था आउन सक्ने बताए। त्यससँगै मल उत्पादनमा आएको अवरोध र प्रतिकूल जलवायु अवस्थाले खाद्य उत्पादनमा थप असर पार्न सक्ने उनको भनाइ छ।
उनले ऊर्जा, खाद्य, मल र वित्तीय दबाब एकसाथ बढ्दा विकासशील अर्थतन्त्रका लागि अवस्था निकै कठिन बन्ने बताए। द्वन्द्वका बेला लगानी सुरक्षित स्थानतर्फ जाने भएकाले ‘ग्लोबल साउथ’का देशबाट वित्तीय स्रोत बाहिरिन सक्ने उनको भनाइ छ। जयशंकरले देशहरूले केवल आफ्नै स्वार्थमा निर्णय गर्न नहुने बताए। धेरै देशका आधारभूत आवश्यकता बेवास्ता हुने गरी निर्णय गर्दा कमजोर राष्ट्रहरू थप संकटमा पर्न सक्ने उनले बताए।
उनले युक्रेन युद्धपछि विभिन्न देशमा राजनीतिक अस्थिरताको असर देखिएको भन्दै इरान र खाडी क्षेत्रमा जारी घटनाक्रमले पनि अस्थिरता थप बढाउन सक्ने चेतावनी दिएका छन्। यस्तो अवस्थामा केही देशलाई आफ्नो स्वतन्त्रता र रणनीतिक स्वायत्तता कायम राख्न कठिन हुन सक्ने उनको भनाइ छ।
विश्वव्यापी द्वन्द्वको असर भोगिरहेका देशका आधारभूत आवश्यकता र आर्थिक सुरक्षामा ध्यान दिनुपर्नेमा जयशंकरले जोड दिए।
प्रकाशित: १४ आश्विन २०८३ १२:०२ बुधबार





