२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

गण्डकीमा एक हजार २९७ मतदान स्थल: मतदाता १८ लाख ७० हजारभन्दा बढी

गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार २ सय ९७ मतदान स्थल तोकिएका छन्। यही फागुन २१ गते हुने निर्वाचनका लागि ११ जिल्लामा ती मतदान स्थल निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। ती मतदान स्थलमा कुल २ हजार ३ सय ९६ मतदान केन्द्र रहनेछन्।

गण्डकी प्रदेशका निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतदान स्थलहरूलाई संवेदनशीलताको आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ। विगतको अनुभव, भौगोलिक जटिलता र सम्भावित अवाञ्छित गतिविधिलाई आधार मानेर वर्गीकरण गरिएको उनले बताए।

कास्कीमा सबैभन्दा धेरै मतदान स्थल

गण्डकीका जिल्लामध्ये कास्कीमा सबैभन्दा धेरै १ सय ५३ मतदान स्थल रहेका छन्, जहाँ ३ सय ६३ मतदान केन्द्र कायम गरिएका छन्। कास्कीमा पनि सामान्यदेखि अति संवेदनशीलसम्मका मतदान केन्द्र रहेको ढकालले जानकारी दिए।

प्रदेशभर १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। जसमध्ये ९ लाख १४ हजार ८ सय पुरुष, ९ लाख ५५ हजार २ सय ५१ महिला र अन्य १४ जना मतदाता छन्।

१८ निर्वाचन क्षेत्र, २३४ उम्मेदवार

गण्डकीमा प्रतिनिधिसभाका लागि १८ निर्वाचन क्षेत्र छन्। ती क्षेत्रमा कुल २ सय ३४ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये २ सय ५ पुरुष र २९ महिला उम्मेदवार छन्। सबैभन्दा धेरै उम्मेदवार कास्कीमा (१८ जना) छन् भने सबैभन्दा कम मनाङमा (३ जना) प्रतिस्पर्धामा छन्।

कास्कीको मतदाता विवरण

गण्डकीको सदरमुकाम कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन्। जसमध्ये १ लाख ६० हजार १ सय ५३ पुरुष, १ लाख ४८ हजार ४ सय १५ महिला र अन्य ४ जना मतदाता छन्।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेका अनुसार जिल्लामा २ हजार ८ सय ६१ कैदीबन्दीमध्ये २ हजार १ सय ४१ पुरुष र ७ सय २० महिला रहेका छन्। उनीहरूका लागि दुई मतदान केन्द्र स्थापना गरिएको छ। कैदीबन्दीका लागि कारागारमै र अन्यका लागि जिल्ला समन्वय समिति प्राङ्गणमा मतदानको व्यवस्था मिलाइएको छ।

३ हजार मिटरमाथि ५४ मतदान केन्द्र

गण्डकीमा ३ हजार मिटरभन्दा माथि ५४ मतदान केन्द्र रहेका छन्। मुस्ताङमा १, गोरखामा १५, मनाङमा १४ सहित विभिन्न जिल्लामा उच्च हिमाली क्षेत्रमा ती केन्द्र छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत करिब ४ हजार ४ सय मिटर उचाइमा रहेको साड्ता गाउँ तथा मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गत ४ हजार २ सय मिटर उचाइका नार र फू गाउँमा रहेका मतदान स्थल यथावत राखिएको ढकालले बताए। केही दिनअघि भएको हिमपातका कारण स्थानान्तरणको प्रस्ताव आए पनि मौसम सुधारिएपछि स्थल यथावत राख्ने सहमति भएको हो।

तीन तहको सुरक्षा घेरा

मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन तहको सुरक्षा घेरा बनाइनेछ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ। आवश्यक परेमा जुनसुकै घेराका सुरक्षाकर्मीले परिस्थिति अनुसार कदम चाल्न सक्ने ढकालले स्पष्ट पारे।

कास्कीमा अवाञ्छित गतिविधिमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। जसमध्ये ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने ५ जनामाथि अनुसन्धान जारी छ। कास्कीमा मात्रै ४ हजार ४ सय सुरक्षाकर्मी निर्वाचन लक्षित गरी परिचालन गरिएको छ।

खर्च विवरण र बैंक खाता

निर्वाचन कार्यालय गण्डकीका अनुसार प्रदेशका ४९ उम्मेदवारमध्ये ४५ जनाले खर्च विवरणका लागि सिफारिस लिए पनि ४२ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता सञ्चालन गरेका छन्। दुई जना बैंकको कालोसूचीमा परेकाले खाता खोल्न नसकेको र एक जनाको नागरिकता विवरणमा नाम फरक परेकाले समस्या देखिएको छ। अन्य ४ जनाले पार्टीकै बैंक खाता प्रयोग गर्ने जानकारी दिएको प्रदेशका प्रमुख कोष नियन्त्रक तथा अनुगमन अधिकृत रमेश अर्यालले बताए।

प्रकाशित: १६ फाल्गुन २०८२ २१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App