१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

लमजुङमा जिप दुर्घटना: चार जना घाइते, एक गम्भीर

लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याङ्गेस्थित बेँसीसहर-मनाङ सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये जिपका धनीको अवस्था गम्भीर रहेको छ।

बेँसीसहरबाट स्याङ्गेतर्फ जाँदै गरेको ग १ ज ७९२६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बुधबार साँझ पौने ६ बजे सडकबाट करिब १०० मिटर तल खसेको हो।

दुर्घटनामा मर्स्याङदी गाउँपालिका-५ बस्ने २६ वर्षीय जिप धनी देवन गुरुङ गम्भीर घाइते भएका छन्। उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ। यस्तै, सोही ठाउँका ४३ वर्षीय योगबहादुर गुरुङ मध्यम घाइते भएका छन् भने उनको कुममा चोट लागेको छ।

जिप चालक २४ वर्षीय राजु गुरुङ र ५५ वर्षीय देवीजंग गुरुङ भने सामान्य घाइते भएका छन्। सबै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ।

घटनास्थल अस्थायी प्रहरी पोष्ट जगतबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्दछ। दुर्घटनाको खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक अजमल हुसेन धोवीको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर उद्धार गरेको थियो।

चालकले मादक पदार्थ सेवन (मापसे) नगरेको र सवारीका कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त जिप भने घटनास्थलमै रहेको छ।

प्रकाशित: १५ आश्विन २०८३ १९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App