१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

संसद् अधिवेशन अन्त्य भएसँगै नेकपाले विपत्तिपछिको पुनर्निर्माणमा सहयोग गर्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सङ्घीय संसदीय दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको हो।

संसद्को अधिवेशन अन्त्य भएसँगै सांसदहरूलाई निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाट तथा जनसरोकारका विषयमा केन्द्रित हुन पनि बैठकले निर्देशन दिएको छ।

बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका मुद्दामा पार्टीको भूमिका, कानुन निर्माणमा संसदीय समितिको भूमिका तथा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।

उनका अनुसार आगामी दिनमा संसद् तथा संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइने विषयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

बैठकले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको समस्या, राहत तथा पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै सांसदहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित: १५ आश्विन २०८३ १९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App