गढीमाई नगरपालिकामा हातेकल (चापाकल) जडान तथा कृषि क्षेत्र आधुनिकीकरणसम्बन्धी कार्यक्रमको कार्यान्वयनमा अनियमितता भएको आरोपसहित उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थलगत अनुसन्धान थालेको छ।
बिहीबार बिहानैदेखि नगरपालिकाका विभिन्न वडामा पुगेको अख्तियारको टोलीले कार्यक्रमसँग सम्बन्धित कागजात तथा विवरण संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटेर हातेकल जडानको वास्तविक अवस्था बुझिरहेको बताइएको छ।
अनुसन्धान टोलीले कागजमा देखाइएको संख्या र फिल्डमा वास्तवमै जडान भएका हातेकलबीचको अवस्था समेत परीक्षण गरिरहेको छ।
गढीमाई नगरपालिका–६ का वडा अध्यक्ष राम सिंहासन राय यादवले आफ्नो वडामा गत वर्ष चारदेखि पाँच वटा मात्र हातेकल जडान भएको भए पनि अख्तियारको टोली गाउँमा पुगेका बेला आफूलाई पायक पर्ने केही बिचौलियाको सहयोगमा ३० वटाभन्दा बढी पुराना जडान भएका हातेकल देखाएर वास्तविक तथ्यलाई अन्यत्र मोड्न खोजिएको आरोप लगाएका छन्। उक्त विषयमा समेत अख्तियारको टोलीले स्थलगत रूपमा तथ्य बुझिरहेको वडा अध्यक्ष यादवको भनाइ छ।
यसैबीच, अख्तियारमा परेको उजुरीमा गढीमाई नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि खाद्य सुरक्षा परियोजनाअन्तर्गत नेपाल सरकारबाट सशर्त अनुदानतर्फ तीन करोड ५० लाख रुपैयाँ प्राप्त गरेको उल्लेख गरिएको छ।
उजुरीमा उक्त कार्यक्रम खुला बोलपत्र आह्वान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै कार्यक्रमको सूचना सार्वजनिक नगरी विभिन्न उपभोक्ता फर्ममार्फत सञ्चालन गरिएको आरोप लगाइएको छ।
कार्यक्रमअन्तर्गत खर्च हुन नसकेको रकम नेपाल सरकारलाई फिर्ता गर्नुपर्नेमा अन्य शीर्षकमा भुक्तानी गरी खर्च गरिएको दाबीसमेत उजुरीमा गरिएको छ।
उजुरीकर्ताले उक्त विषयमा भएको भुक्तानी तथा खर्चसम्बन्धी सम्पूर्ण सक्कल फाइल झिकाई आवश्यक अनुसन्धान गर्न माग गरेका छन्।
गढीमाई नगरपालिका–८ का वडा अध्यक्ष बजरङ्गी प्रसाद यादवले अख्तियारको स्थलगत अनुसन्धानप्रति चासो व्यक्त गर्दै अनुसन्धान अझ प्रभावकारी र तथ्यपरक बनाउन जनप्रतिनिधिसँग समेत प्रत्यक्ष समन्वय हुनुपर्ने बताएका छन्।
अध्यक्ष यादवका अनुसार अख्तियारको टोलीले सम्बन्धित जनप्रतिनिधिलाई भेटेर वडामा सञ्चालित योजनाको वास्तविक अवस्था, कार्यान्वयनको स्थान र लाभग्राहीबारे जानकारी लिँदै स्थलगत निरीक्षण गरेको भए अनुसन्धान थप प्रभावकारी हुने थियो। तर, आफूले सुनेअनुसार उजुरीमा अनुसन्धानको दायरामा रहेका कर्मचारीलाई नै साथमा लिएर टोलीले स्थलगत अनुसन्धान गरिरहेको भन्दै उनले यसप्रति चासो व्यक्त गरेका छन्।
उनले आफ्नो वडामा जडान गरिएको भनिएको हातेकलको संख्या, स्थान र वास्तविक अवस्थाबारे निष्पक्ष रूपमा स्थलगत अनुसन्धान गर्न अख्तियारको टोलीसँग आग्रह गरेका छन्। कागजी विवरणमा उल्लेख भएको तथ्य र फिल्डमा देखिने वास्तविक अवस्थाबीच कुनै फरक भए त्यसलाई समेत प्रमाणका आधारमा यकिन गर्नुपर्ने उनको भनाइ छ।
“अनुसन्धान निष्पक्ष र वास्तविक हुनुपर्छ। जनप्रतिनिधिसँग समेत समन्वय गरेर वडामा भएका योजना तथा हातेकलको स्थलगत अवस्था हेर्दा वास्तविकता अझ स्पष्ट हुन्छ,” वडा अध्यक्ष यादवले भने।
हातेकलसम्बन्धी कार्यक्रमका कागजात, भुक्तानी विवरण र फिल्डको वास्तविक अवस्थाबीचको अन्तरबारे अख्तियारले थालेको स्थलगत अनुसन्धानलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ।
तीन करोडभन्दा बढीको योजना टुक्र्याएर उपभोक्ता समितिमार्फत सञ्चालन गरेको आरोप
गढीमाई नगरपालिकामा तीन करोड रुपैयाँभन्दा बढीको योजनालाई विभिन्न टुक्रामा विभाजन गरी उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान थालेको छ।
उजुरीमा सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थाअनुसार निश्चित सीमाभन्दा माथिका योजनालाई प्रतिस्पर्धात्मक प्रक्रियामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै ठूलो बजेटको एउटै प्रकृतिको योजनालाई विभिन्न साना योजनामा विभाजन गरी उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको आरोप लगाइएको छ।
त्यसैगरी, उपभोक्ता समिति गठन गर्दा सम्बन्धित पदाधिकारी तथा कर्मचारीका नातागोता वा निकट व्यक्तिहरूलाई समितिमा राखी योजना सञ्चालन गरिएको आरोपसमेत उजुरीमा उल्लेख गरिएको छ।
योजना छनोट, उपभोक्ता समिति गठन, सम्झौता, कामको वास्तविक अवस्था तथा भुक्तानी प्रक्रियासहितका विषयमा आवश्यक कागजात झिकाई अनुसन्धान गर्न माग गरिएको छ।
प्रकाशित: १५ आश्विन २०८३ १९:३१ बिहीबार





-600x400.jpg)