६ वैशाख २०८१ बिहीबार
कला

कलाकार सरोजा खड्गीका नाै चित्र

सृजनशील कलाकर्म

कलाकार सरोजा खड्गी।

महिला मनोविज्ञानलाई कुशल ढंगले क्यानभासमा पस्कन सिपालु कलाकार हुन्–सरोजा खड्गी। मोरङ जिल्लाको पथरीमा बसेर कला साधना गर्दै आएकी सरोजा पूर्वी नेपालकै चम्किलो तारा हुन्। कलामार्फत सामाजिक रूपान्तरणका लागि सक्रिय भएस्वरूप उनी सम्मानित छिन्।  

विगतमा उर्लाबारीको पशुपति बोर्डिङ स्कुलका बालबालिकालाई उनले ११ वर्षसम्म कला सिकाएकी थिइन्। अचेल पथरीमै ‘एभरेष्ट आर्ट फ्युजन ग्यालरी’मा सिकाउँछिन्। उनको समूह पथरीमै ललितकला क्याम्पस खोल्ने अभियानमा जुटेको छ। उनीहरूले दुई वर्षअघि पथरी सेरामिक्स उद्योग समेत खोलेका छन्।  

कलामार्फत सामाजिक रुपान्तरणका लागि क्रियाशील सरोजा खड्गीका चित्र प्रभावशाली छन्। आफ्नो निखारिएको कलाकर्मबाट उनले आपसी सद्भाव, विश्वबन्धुत्व र समतामूलक समाजको पक्षमा वकालत गर्दै आएकी छिन्।    

उनी पथरी शनिश्चरे नगरपालिकाको ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’की कोषाध्यक्ष पनि हुन्। त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्यका रूपमा क्रियाशील छिन्। एउटा स्थापित कलाकार बन्न उनले निकै महेनत गरेकी छिन्। विद्यालय जीवनदेखि नै कलाकर्ममा अग्रसर सरोजाले पचासको दशकमा १० महिना काठमाडौंको सिर्जना कन्टेम्प्ररी आर्ट ग्यालरीमा औपचारिक रूपमा कला अध्ययन गरेकी थिइन्। त्यहाँ उनलाई अग्रज कलाकारहरू कृष्ण मानन्धर, सुरेन्द्रराज भट्टराई, उत्तम खरेल लगायतले सिकाउँथे।

उनका बुबा विष्णुप्रसाद र आमा मिना जमानाका राम्रा कलाकार थिए। उनमा उनीहरूकै प्रभाव परेको छ। जीवनमा ४ पटकसम्म एकल प्रदर्शनी गरेकी सरोजा सामाजिक विषयवस्तुलाई कलात्मक उठान गर्न निपुण छिन्। केही समयपछि काठमाडौंमा प्रदर्शनी गर्ने उनको योजना छ।

‘कलाबाट आत्मसंतुष्टि पाएकी छु’, ४८ वर्षीया सरोजाले भनिन्, ‘कलामार्फत सामाजिक जागरणको सन्देश बाँड्न पाउँदा मनमा आनन्द मिल्छ। त्यसैले म बाँचुँन्जेल कलाकर्ममा समर्पित रहनेछु। उनलाई जीवनसाथी र सिंगो परिवारको भरपुर सहयोग छ।

जीवनमा उनले धेरै चित्र बनाइन्। तीमध्ये पछिल्लो समयमा बनाइएका ९ चित्रको यहाँ चर्चा गरिएको छ।

होसियार  

कोरोनाले अशान्त पारेको वर्तमान समयमा समयमा नेपालको हित नचाहने तत्व पनि सल्बलाएका छन्। कहिले ती हाम्रो सीमा मिच्छन्, त कहिले अरू किसिमले दुःख दिन्छन्। तिनलाई पनि कलाकार सरोजाले कोरोना बिम्बका रूपमा उतारेकी छिन्। बुद्ध जन्मभूमिका हामी नेपालीले सुझबुझपूर्ण ढंगले होसियार भएर समस्याको समाधान गर्नुपर्छ भन्ने सन्देश दिएको छ। हामी एकजुट भएर अन्यायविरुद्ध लड्न आब्हान गरेको छ।  

एकल आमा

आमा आफ्ना सन्तानका लागि ममताको सागर खन्याउँछिन्। सन्तानको खुसीका लागि हरपल काम गर्छिन्। कलाकार सरोजाको ‘एकल आमा’ शीर्षक चित्रमा एउटी एकल आमाले सन्तानका लागि गरेको संघर्षको कथा झल्काइएको छ। आमा कहिले मायादेवी बनेर माया बाँड्छिन्, कहिले सरस्वती भएर ज्ञान अनि कहिले दुर्गाको रूप लिएर संरक्षण गर्छिन्। २३ वर्षकै उमेरमा विधवा भएकी आफ्नी हजुरआमाको जीवनीबाट प्रेरित भएर उनले यो चित्र बनाएकी।  

कोरोनाको दुइटा पाटो

संसारमा कोरोना फैलेपछि यसबाट बच्न लकडाउन हुँदा एकातिर हामीले घरमै बन्दी जीवन बाँच्नु प¥यो। अर्कोतिर प्रकृति सफा, स्वच्छ र सुन्दर बन्यो। निख्खर नीलो आकाश ओढेर बसेको पृथ्वीमा बोटबिरुवा र जंगली जनावर तथा चराचुरुङी खुसी देखिए। हामीले गरेको प्रकृति विनाशकै कारण कोरोना महामारी भित्रिएको हो। त्यसैले अब हामीले प्रकृतिमैत्री बन्नुपर्छ भन्ने सन्देश दिएको छ यो चित्रले।  

माटोले माग्दैन, आफैंले दिनुपर्छ

यो धर्ती महिला र पुरुष दुवैको साझा फूलबारी हो। यसलाई बनाउन दुवैले हातेमालो गर्नुपर्छ। नेपाली महिला पनि कुनै कुरामा कम छैनन्। आफ्नो कर्मबाट मुलुकलाई उचाइमा पु-याउन योगदान गर्ने धेरै महिला छन्। तीमध्ये केही प्रतिनिधि पात्रहरू जस्तो कि पासाङ ल्हामु शेर्पा, अनुराधा कोइराला, झमक घिमिरे, रागिनी उपाध्याय, पारिजातको मुहारचित्र क्यानभासमा उतारेर उनले मुलकलाई समृद्ध बनाउन हातेमालो गर्नुपर्ने आग्रह गरेकी छिन्।  

अन्यौल गन्तव्य

आजका नेपाली युवाको भविष्य अन्यौल छ। खाने, पिउने र रमाइलो गर्ने उमेरमा उनीहरू भविष्यको चिन्ताले ग्रसित छन्। नेपाली युवा विदेश जाने होडमा छ। त्यसैले स्वदेशमै बस्ने कि विदेशमा जाने भन्ने कुरा उनीहरूका मनमा घुमिरहन्छन्। सरोजाको चित्रले तिनै युवाको मनोविज्ञानको कुशल ढंगले चित्रण गरेको छ। हाम्रा युवा तनावमा छन्। उनीहरूमा अस्थिर मानसिकता छ। त्यसैले चित्रबाटै नीति निर्माता र मुलुक हाँक्नेहरूलाई उनी सोध्छिन्, ‘कहिलेसम्म हाम्रा युवाहरू अलमलिइरहने?’ 

जाग नारी

समाजमा महिलामाथि हिंसा भइरहेको छ। किशोरी र बालिकामाथि कुदृष्टि राखेका घटनाहरू बरोबर सार्वजनिक भइरहेका छन्। यसरी महिलाहरूलाई शारीरिक र मानसिक रूपमा यातना दिने काम भइहरेको छ। कतिपय महिला घरपरिवार र समाजबाटै असुरक्षित छन्। सरोजाको ‘जाग नारी’ शीर्षक चित्रले आफूमाथि अन्याय हुनेबित्तिकै नारी जाग्नुपर्छ। त्यसो भएमा दुर्घटना हुन सक्दैन भन्ने सन्देश बोकेको छ। अन्याय पर्दा चूपचाप बस्न नहुनेमा उनको जोड छ।  

कोरोनाविरुद्ध हाम्रो संघर्ष

लकडाउनमा जिन्दगी उकुसमुकुस बन्यो। कलाकार सरोजाहरूको संस्था एभरेष्ट आर्ट फ्युजनले गत जेठ ७ गते आफ्नो स्थापना दिवसमा कोरोनाविरुद्ध सन्देश बाँड्यो। उसले पथरीको मूलसडकमा इन्स्टलेशन आर्ट पस्कियो। सरोजा सहित कलाकारहरू भरत तामाङ, बुद्धिमान धिमाल, धनबहादुर लिम्बु, भिम पुरी, साकार खड्गी, सन्जिव श्रेष्ठ मिलेर बनाइएको कलाले कोरोनासँग सचेत रहन आग्रह गरेको थियो। यसमा उनीहरूलाई स्थानीय नगरपालिका र इलाका प्रहरी कार्यालयले साथ दिएको थियो।  

सपनाहरूको सन्तुलन

संसारमा आमाजत्तिकै महान र निस्वार्थी को होला? आमा आफ्ना बालबच्चाको सपना पूरा गर्न आफ्ना निजि लक्ष्य र सपनालाई तिलाञ्जली दिन्छिन्। बलिदानी गर्छिन्। सरोजाको चित्र ‘सपनाहरूको सन्तुलन’ भन्छन्, ‘आमाले आफ्ना सन्तानको सपना फुलाउँदै गर्दा आफ्नो निजी सपनालाई पनि शिखरमा पु¥याउनुपर्छ। सन्तुलनमा राखेर अगाडि बढ्नुपर्छ। आफ्ना इच्छा र आकांक्षालाई मार्नु हुँदैन।  

आमा प्रकृति

प्रकृति हाम्री आमा हुन्। यी आमाले हामीलाई गाँस, बास र कपास दिन्छिन्। उनले सुन्दर धर्ती दिएकी छिन् तर हामीले यसको विनाश  गरेर हाम्री आमालाई रुवाइहेका छौं। सरोजाको ‘आमा प्रकृति’ शीर्षक चित्रले प्रकृतिको विनाशमा हामी उद्यत हुँदै गएमा हामीले सजाएँ पाउने सन्देश प्रवाह गरेको छ। त्यसैले हामीले सबै प्राणीमा माया, प्रेम र सद्भाव दर्शाएमा हामीलाई प्रकृतिले माया दिइरहन्छिन्।

प्रकाशित: १० श्रावण २०७७ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App