नेकपा (माओवादी केन्द्र) का नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन्।
शनिबार (आज) नेसपा (नयाँ शक्ति)को विज्ञ परिषद्ले काठमाडौंमा आयोजना गरेको 'सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्व : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको औचित्य' विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफूले विगत लामो समययता यही विषयको वकालत गर्दै आएको र किताबसमेत लेखेको उल्लेख गर्दै उनले भने, 'राजनीतिक स्थायित्वको निम्ति राष्ट्रपतीय प्रणालीमा जानुपर्छ।'
संविधान लेखनका समयमा राजनीतिक अस्थिरताको अन्त्य गर्न सुरुको गर्न दुई वर्षसम्म र अन्तिमको एक वर्षमा संसद् विघटन गर्न र अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था राखिएको स्मरण गर्दै त्यो सुधारिएको संसदीय व्यवस्था भएको बताए।
२०औं शताब्दी परोक्ष लोकतन्त्र र २१औं शताब्दी प्रत्यक्ष लोकतन्त्रको युग भएको पनि उनले बताए। अधिनायकवादी राष्ट्रपति हुनसक्छ भन्ने त्रास हटाउन प्रत्याह्वान र महाभियोगको व्यवस्था राखी उसलाई अधिनायकवादी हुनबाट जोगाउन सकिने धारणा राख्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली 'रियल डेमोक्रेसी' हुने बताए।
प्रकाशित: २३ चैत्र २०८१ २०:३१ शनिबार