वातावरण विज्ञ तथा सरोकारवालाहरूले वायु प्रदूषणमा सुधार नआएसम्म विद्यालय बन्द गर्न सुझाव दिएका छन्।
काठमाडौंसहित देशका विभिन्न भागहरूमा वायु प्रदूषण अत्यन्त खतरनाक अवस्थामा पुगेको भन्दै उनीहरूले सुधार नभएसम्म विद्यालय बन्द गर्न सुझाव दिएका हुन्।
उनीहरूले सवारी साधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागू गर्नसमेत सुझाव दिएका हुन्।
शनिबार (आज) संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञहरूले भनेका छन्, 'विगत एक सातादेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरहरूको हावाको गुणस्तर जनस्वास्थ्यका लागि घातक बन्दै गएको छ। यथाशीघ्र ठोस कदम चालिएन भने स्थिति नियन्त्रण बाहिर जाने जोखिम बढ्दो छ।'
उनीहरूले सरकारलाई सात बुँदे मागसमेत गरेका छन्। वातावरणविद् भूषण तुलाधर, अभ्नी भेन्चर्सकी निर्देशक सिलसिला आचार्य, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली र नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्कीलगायतले यो माग गरेका हुन्।
मागहरू यसप्रकार छन्-
१. एक्यूआई ३०० माथि पुगेका क्षेत्रमा वातावरणीय आपतकाल घोषणा गर्ने।
२. डढेलो नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीय समुदायसँग समन्वय गरी स्रोत साधन परिचालन गर्ने।
३. धुलो-धुँवा फैलाउने सवारी साधनमा रोक, सडक सफाइ र धुलो नियन्त्रण कार्य तुरुन्त अघि बढाउने।
४. वायु प्रदूषण स्तरमा सुधार नआएसम्म विद्यालयहरू बन्द गर्ने।
५. प्रदूषण न्यूनीकरणका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने।
६. कृषिजन्य अवशेष र फोहर जलाउने कार्य तत्काल रोक्ने।
७. सर्वसाधारणलाई मास्क अनिवार्य रूपमा प्रयोग गर्न प्रेरित गर्ने।
उनीहरूले भनेका छन्, ुनेपालको संविधानले नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । यसकारण वायु प्रदूषण नियन्त्रणमा सरकारको स्पष्ट प्रतिबद्धता र तत्काल कदम आवश्यक छ ।ु
प्रकाशित: २३ चैत्र २०८१ २०:०९ शनिबार