इलाममा आउँदो वैशाख पहिलो साता कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ। जिल्ला ब्याडमिन्टन संघको आयोजनामा वैशाख ४ देखि ६ गतेसम्म मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको हो।
‘स्वास्थ्यका लागिमात्र नभई राष्ट्रका लागि पनि खेलकुद’ भन्ने लक्ष्यसहित आयोजित प्रतियोगितामा सात इभेन्टका खेल हुनेछन्। मेन्स डबल (ओपन), मेन्स सिंगल (ओपन), मिक्स डबल (ओपन), ९० प्लस भेट्रान डबल ओपन, भेट्रान्स डबल ४५ प्लस ओपन, सुपर भेट्रान्स डबल ५५ प्लस (ओपन) र अन्डर १५ सिंगल ब्वाइजका खेल हुनेछन्।
प्रत्येक खेलमा पहिलो हुनेलाई ३० हजारदेखि ५१ हजार रुपैयाँसम्म नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ। ‘इलाम नगरपालिका र विभिन्न स्रोतबाट खर्चको जोहो गरेका छौं,’ संघ अध्यक्ष हुकुमलाल थेबेले भने, ‘यो स्तरको प्रतियोगिता इलाममा पहिलो पटक हुँदैछ, त्यसैले सबैको सहयोग रहन्छ भन्ने आशा छ।’
उनले ब्याडमिन्टन पछिल्लो समय सबैको आकर्षण बनिरहेको बताए। ‘व्यायाम राम्रो हुने भएकाले यो खेल अचेल धेरैको आकर्षण बनेको छ तर यसलाई स्वास्थ्यका लागिमात्र होइन, राष्ट्रका लागि पनि बनाउनुपर्छ,’ उनले भने, ‘राम्रा खेलाडी उत्पादन गरी उनीहरूलाई व्यावसायिक बनाउनतिर प्रयास गर्नुपर्छ।’
जिल्ला प्रहरी कार्यालयछेउमा रहेको कभर्ड हलमा प्रतियोगिता आयोजना गरिने छ। अन्डर १५ को प्रतियोगिता तरकारी बजारछेउको कोर्टमा हुनेछ। प्रतियोगितामा कोशी प्रदेशमात्र नभई भारतका विभिन्न ठाउँबाटसमेत खेलाडी आउनसक्ने आयोजकले जनाएको छ। आयोजक समिति सचिव हेमराज ढकालले प्रतियोगितामा डेढसयभन्दा बढी खेलाडीले भाग लिने अनुमान गरिएको बताए। ‘खेलाडी र टिमको संख्या अहिले यकिन हुँदैन,’ उनले भने, ‘तर, पर्यटक प्रवर्धनका लागि पनि यो प्रतियोगिताले सघाउने आशा गरेका छौं।’
आयोजक समिति उपाध्यक्ष प्रेम लिम्बूले खेलकुदका माध्यमबाट जिल्लाको आर्थिक समृद्धिका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाए। ‘ब्याडमिन्टन खेल स्वास्थ्यका लागि लाभदायक त छ नै, प्रतियोगिताका माध्यमबाट देश–विदेशका आगन्तुकलाई इलाम ल्याउनु पनि हाम्रो लक्ष्य हो,’ उनले भने, ‘खेल पर्यटनका माध्यमबाट आर्थिक विकासमा सहयोग पुग्छ।’ उनले प्रतियोगिता सञ्चालन गर्नुले ब्याडमिन्टनप्रति सबैको ध्यानाकर्षण हुने पनि बताए। ‘फुटबल, भलिबलहरूजस्तै यो पनि एउटा महत्वपूर्ण खेल हो,’ उनले भने, ‘तर, धेरैको आकर्षण रहेको यो खेल ओझेलमा पर्ने अवस्थामा छ।’
संघका केन्द्रीय सदस्य ईश्वर चिपालुले ब्याडमिन्टनमा क्रेज बढेपनि इलाममा चाहिँ खेल कमजोर हुने अवस्था आएको बताए। ‘अचेल ब्याडमिन्टनमा धेरैको चासो छ, धेरैले खेल्ने खेल हो यो,’ उनले भने, ‘तर, यसमा भरपुर लगानी र सहयोग हुन सकेको छैन।’
इलाममा साविक मेची क्षेत्रमै पहिलो पटक ब्याडमिन्टन कोर्ट बनेको भएपनि खेलको निरन्तरता नहुँदा अहिले ओझेलमा परेको अध्यक्ष थेबे बताउँछन्। ब्याडमिन्टनले बालबालिकासमेतलाई कुुलत, मोबाइल र टिभीको लतबाट छुुटाउन सहयोग हुनेगरेको बताए। ‘हामीले इलाममा बालबालिकाका लागि ब्याडमिन्टनको सिकाइ कक्षा नै चलाइरहेका छौं,’ उनले भने, ‘शारीरिक तन्दुरुस्तीका लागिमात्र होइन, यो खेललाई खेलकै रूपमा विकास गरी देशका नामी खेलाडी उत्पादन गर्नेतिर लाग्नुपर्छ।’
प्रकाशित: २८ चैत्र २०८१ ०७:५२ बिहीबार





