२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

तिलगंगा सर्जिकल आँखा केन्द्रको एक वर्ष : १२ हजारलाई सेवा

<br>

गोदावरी नगरपालिका- ११ चापागाउँमा सञ्चालित तिलगंगा सर्जिकल आँखा केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ।

केन्द्रले एक वर्षको छोटो अवधिमै १२ हजारभन्दा बढी सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गरेको जनाएको छ।

पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा केन्द्रकी इन्चार्ज श्रद्धा महर्जनले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै एक वर्षभित्र १२ हजारभन्दा बढीको आँखा जाँच र ५ सयभन्दा बढीको शल्यक्रिया गरिएको जानकारी दिइन्।

सोही अवधिमा केन्द्रले ३२ वटा विद्यालय र समुदायमा पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।

महर्जनका अनुसार एक वर्षमा फन्डस फोटो सेवा विस्तार, मोतीबिन्दु तथा प्रमुख शल्यक्रियामा वृद्धि, औषधि र चश्मामा सहज पहुँच, वित्तीय स्थिरता तथा समुदायमा विश्वास र सेवाको उपयोगमा वृद्धि हुनु केन्द्रको मुख्य उपलब्धि रहेको छ।

तिलगंगा आँखा प्रतिष्ठान र गोदावरी नगरपालिकाबीच आँखा स्वास्थ्य सेवा प्रदान गर्न भएको ३० वर्षे सम्झौताअनुरुप गत वर्षको जनवरी १ मा यो केन्द्र स्थापना भएको थियो।

केन्द्रले हाल दृष्टि परीक्षण, विस्तृत आँखा जाँच, साना तथा ठूला शल्यक्रिया, फन्डस फोटो, मधुमेहजन्य रेटिनोपथी जाँच, औषधि तथा चश्मा वितरणका साथै ‘आउटरीच’ र विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ।

सबैका लागि पहुँचयोग्य, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा सुनिश्चित गर्दै रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने र जनचेतनामार्फत जीवनस्तर सुधार गर्ने लक्ष्य केन्द्रले लिएको छ।

वार्षिकोत्सव समारोहमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, उप-प्रमुख मुना अधिकारी, कार्यक्रम व्यवस्थापक डा. मोहन कृष्ण श्रेष्ठ, गोदावरी-११ का वडाध्यक्ष नील बहादुर देसार, ललितपुर महानगरपालिका-२२ का वडाध्यक्ष सागर तुलाधर, बज्रवाराही अस्पतालका प्रमुख लगायतको उपस्थिति थियो।

प्रकाशित: १७ पुस २०८२ २१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App