४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीको आक्रोश- प्रधानमन्त्रीसँग पनि बयान लिइन्छ ? यो के तमासा हो ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको आयोगले आफूसँग बयान लिन खोजेको विषयमा आपत्ति जनाएका छन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले देशको कार्यकारी प्रमुख भइसकेको व्यक्तिसँग बयान लिन खोज्नु सरकारको तमासा भएको बताए। ओलीले भने- ‘यो तमासा चुनाव नगराउने प्रपञ्च हो।’

आफू प्रधानमन्त्री छँदा भएको आन्दोलनको विषयलाई लिएर अहिले छानबिनका नाममा राजनीतिक प्रतिशोध साँध्न खोजिएको ओलीको आरोप छ। उनले भने, ‘प्रधानमन्त्रीसँग पनि बयान लिइन्छ। यो के तमासा हो त्यो ? पासपोर्ट रोक्का रे ! यो सब चुनावको वातावरण नबनाउने र बिथोल्ने खेल हो।’

ओलीले तत्कालीन सरकार प्रमुखलाई बयानको दायरामा ल्याउने कुरा गरेर वर्तमान सरकारले चुनावी वातावरण धमिल्याउन खोजेको जिकिर गरे। उनले सरकारले राजनीतिक स्टन्टबाजी बन्द गरेर निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिए।

जेन–जी आन्दोलनका क्रममा ओली प्रधानमन्त्री थिए। सोही घटनाको छानबिन गर्न गठित आयोगले तत्कालीन गृहमन्त्रीसँग सोमबार बयान लिएको थियो। आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि सोधपुछ गर्न सक्ने चर्चा चलिरहेका बेला ओलीले सार्वजनिक रूपमै यसको प्रतिवाद गरेका हुन्।

उनले राहदानी (पासपोर्ट) रोक्का गर्ने जस्ता हल्ला फैलाएर नेताहरूको मानमर्दन गर्न खोजिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए।

प्रकाशित: १५ पुस २०८२ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App