हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको छ। आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रूपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताए।
वर्षासँगै काठमाडौं उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रूपमा हट्ने उनले बताए।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ।
महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रकाशित: २८ चैत्र २०८१ ०६:२३ बिहीबार




