११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

सहिष्णुताको अग्लो अभियानमा संसारकै गहिरो उपत्यका

अरूण उपत्यका विश्वकै सबैभन्दा गहिरो हो। यही उपत्यका नजिकैको अरूण गाउँपालिकामा धार्मिक सद्भावको हिसाबले निकै ‘अग्लो’ काम हुँदैछ। त्यहाँ निर्माणाधीन अरूण आध्यात्मिक प्रतिष्ठान किरात, बौद्ध र हिन्दु धर्मावलम्बीको साझा फूलबारीको रूपमा विकिसित हुँदै गएको छ। मन्दिर, चैत्य र माङ्खिमको पवित्र भूमिमा गुरुकुल, त्रिपिटक र मुन्धुम दर्शन अध्ययन केन्द्र खुल्दैछन्। यसका लागि निर्माणाधीन प्रतिष्ठानले सुनमा सुगन्ध थपेको छ।

‘धार्मिक सहिष्णुतासहितको सुसंस्कृत समाज निर्माणका लागि अरूण आध्यात्मिक प्रतिष्ठानले काम गर्दै छ,’ प्रतिष्ठानका सचिव आचार्य सोमनाथ कोइराला भन्छन्न्, ‘यसले सिंगो समाजलाई खुसी दिएको छ।’

हिन्दु, बौद्ध र किरात धर्मको अध्ययन, प्रचारप्रसार र संवर्धन गर्न प्रतिष्ठान निर्माण गर्न लागिएको हो। भोजपुरको अरूण गाउँपालिका–३, प्याउलीमा २०७६ माघमा एउटै व्यासासनमा किरात, हिन्दु र बौद्ध गुरुबाट पाठ परायण र वाचन गरेर प्रतिष्ठानको जग बसालिएको कोइरालाले बताए। ‘यसको जगमै धार्मिक सद्भावको इटा राखिएको छ,’ कोइराला भन्छन्, ‘अहिले यो जग मन्दिर, चैत्य, माङ्खिमको रूपमा विकसित भएको छ।’

 अरूको धर्मलाई सम्मान गर्दा आफ्नो धर्मलाई पनि सम्मान मिल्ने कुरा यहाँका सर्वसाधारणले राम्ररी बुझेको उनले सुनाए।

करिब एक अर्ब रूपैयाँ लागतमा डिपिआर तयार भएको यो प्रतिष्ठानका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। यसका लागि संघीय सरकारले उपलब्ध गराएको १२ करोड रुपैयाँबाट बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण हुँदै छ।

त्यस्तै प्रदेश सरकारको सहयोगबाट मन्दिर, चैत्य, माङ्खिम निर्माण भएका छन्। भारतीय राजदूतावासले उपलब्ध गराएको ५ करोड रूपैयाँको लागतमा अध्यन केन्द्र बन्दै छ। ‘हाम्रो अवधारणाका लागि यहाँका सर्वसाधारणबाट मात्र हैन, देश–विदेशबाट पनि सहयोग आउन थालेको छ,’ कोइराला भन्छन्, ‘धार्मिक सहिष्णुताको यो नमुनाले सबैको मन छोएको छ।’

प्रतिष्ठान निर्माणसँगै सबै समुदाय खुसी छन्। त्यस भेगमा बाहुन, क्षेत्रीसँगै राई, मगर समुदायको बाक्लो उपस्थिति छ। त्यस्तै धार्मिक हिसाबले हिन्दु, बौद्ध र किरात धर्मावलम्बी बाहुल्य भएको प्रतिष्ठानका सचिव कोइराला सुनाउँछन्।

‘धर्म भनेको एकअर्कालाई निषेध गरेर जाने हैन, मिलेर जाने हो भन्ने शिक्षा यो प्रतिष्ठानले दिएको छ,’ किरात धर्मका ज्ञाता निरन राईले भने, ‘यसले सिंगो समाजलाई खुसी दिएको छ।’

बौद्ध दर्शनका जानकार पुण्यप्रसाद पराजुलीले यो अध्यन केन्द्र समग्र धर्मावलम्बीको साझा फूलबारीको रूपमा विकसित हुँदै जाने बताए। भेदभावरहित समाज निर्माणका लागि यो पहिलो खुट्किलो हो,’ उनले भने, ‘यहीबाट सभ्य समाजको निर्माण हुने विश्वास लिएका छौं।’

 उनले चैत्य निर्माण गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेको जानकारी दिए। ‘यसको उद्देश्य राम्रो भएकाले सबै समुदाय सहयोग गर्न जुटेका छन्,’ उनी भन्छन, ‘एउटै हलमा बौद्ध ध्यान, हिन्दु पुराण र किरात मुन्धुम दर्शनको चर्चा हुने गर्छ।’

संस्कार र संस्कृति नै जीवन हो भन्ने मूल नाराका साथ नेपालको माटोमा जन्मिएका मौलिक धर्महरूको संरक्षण र संवर्धनका लागि यो केन्द्र स्थापना गरिएको अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री बताउँछन्। ‘यो प्रष्तिठानको बीजारोपण भएसँगै यहाँ सद्भावको अंकुर निस्किएको छ,’ उनले भने, ‘अरूण नदी किनारमा फक्रिएको यो सहिष्णुताको फूलले एकदिन समग्र नेपाल मगमगाउने छ।’

प्रकाशित: २८ चैत्र २०८१ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App