राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जीबी राईलाई किन उन्मुक्ति दिइयो भनेर सरकारलाई प्रश्न गरेका छन्। शनिबार (आज) साँझ फेसबूक लाइभमा आएका उनले सोधेका छन्- जीबी राईलाई किन उन्मुक्ति दिइयो ?
उनले उस्तै मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भने पटक-पटक दु:ख दिने काम भइरहेको बताएका छन्। 'हिजो रवि लामिछानेलाई बेडभित्रै गएर पक्राउ गरिएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेको जीबी राई कहाँ छन् ? जीबी राईलाई के कारणले गर्दा उन्मुक्ति दिइयो ? रवि लामिछानेलाई के कारणले गर्दा पटक पटक दु:ख दिइँदै छ ?'
अदालतमा पार्टीका कार्यकर्ता नियुक्ति गर्ने प्रचलन रहेको उल्लेख गर्दै उनले आफू अदालतका प्रति बोल्न नहुनेमा स्पष्ट रहेको बताए। 'न्यायाधीश नियुक्ति गर्ने जुन प्रक्रिया छ हाम्रो देशमा, त्यसले कहीँ न कहीँ त शङ्का उत्पन्न गराउँछ। सम्मानित अदालतको कुरा हामीले स्वीकार गर्छौँ तर, त्यसको मतलब यो होइन कि कसैलाई लाखा, कसैलाई पाखा गर्ने अधिकार चाहिँ अदालतसँग छ।'
प्रकाशित: २३ चैत्र २०८१ २१:१८ शनिबार