२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंले भने: सुरक्षा दिए आउँछु, सरकारले भन्यो- सुरक्षा होइन, पक्राउ दिन्छाैं

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दुर्गा प्रसाईंलाई राज्यले सुरक्षा नदिएर पक्राउ गर्ने बताएका छन्।

बुधबार साँझ नागरिक न्युजको ‘फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले प्रसाईंले राज्यविरुद्ध अराजकता फैलाएकाले सुरक्षा नदिएर पक्राउ दिने बताएका हुन्।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले प्रसाईँको ‘सुरक्षा ग्यारेन्टी भए २४ घण्टामा आउँछु’ भन्ने भिडियोबारे सोधेको प्रश्नको जवाफमा मन्त्री गुरुङले यस्तो बताएका हुन्।

“ऊ आओस् वा नआओस्, हामीलाई मतलब छैन। राज्यसँग बार्गेनिङ गर्ने ?, आगजनी, लुटपाट र अराजकता फैलाउनेलाई राज्यले सुरक्षा दिन्छ कि पक्राउ गर्छ ? उनलाई पक्राउ नपरुन्जेल छोडिँदैन,” उनले भने।

चैत १५ मा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले शान्ति सुरक्षामा खलल पुर्‍याएको र संविधानमाथि आक्रमण गरेको उनको भनाइ थियो। “यो राज्यविप्लव हो, चाहे पूर्वराजा ज्ञानेन्द्र शाहले गरोस् वा अरू कसैले, संविधानको रक्षा गर्न राज्यले काम गर्छ,” उनले थपे।

मन्त्री गुरुङले प्रसाईं लुक्दै र भाग्दै हिँडेको बताउँदै उनलाई देशभित्र वा बाहिर जहाँ भए पनि पत्ता लगाएर पक्राउ गरिने उल्लेख गरे। “अस्ति १५ गते प्रहरी नहटेको भए कुल्चेर मार्थे थिए। राज्यले हत्या, हिंसा र लुटपाटलाई छुट दिँदैन,” उनले भने।

राजतन्त्र फर्कने सम्भावना नरहेको र यस्ता अराजक शक्तिलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए। मन्त्री गुरुङले संविधान नै मूल कानुन भएको र कोही पनि त्यसमाथि नरहेको उल्लेख गरे।

“हामीले सम्मान्तवाद र राजतन्त्र अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ। जनयुद्ध, मधेस आन्दोलन र सात दलको जनआन्दोलनको प्रभाव छ,” उनले भने।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति टिप्पणी गर्दै उनले संविधानको कसम खाएर पनि राजावादी गतिविधि गरेकोमा उदारता देखाइएको बताए। “पूर्वराजालाई राजनीति गर्न मन छ भने राप्रपाको अध्यक्ष भएर चुनाव लड्नुस्, स्वागत छ। तर जस्केलाबाट राजा बन्छु भन्ने कल्पना एक प्रतिशत पनि नगरे हुन्छ,” उनले थपे।

प्रकाशित: २७ चैत्र २०८१ २१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App