नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न असन्तुष्ट शेरबहादुर देउवा पक्षलाई आग्रह गरेका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले आयोगले वैधानिकताको विवाद टुंग्याइसकेकाले अब यो पक्ष र त्यो पक्ष नभनी मिलेर जानुपर्ने बताएका हुन्।
सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक र संरक्षकको भूमिका निर्वाह गरिदिन आग्रह गरे।
सानेपामा समानान्तर गतिविधि भइरहेको सन्दर्भमा थापाले भने, ‘म श्रद्धेय शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, उहाँले देशभरका साथीहरूलाई आह्वान गर्दिनुपर्छ, भन्दिनुपर्छ अब रोक, सकियो अब। एउटा चरणसम्म हाम्रा विमतिहरू रहे, तर अब निर्णय भइसक्यो।’
देउवाले अभिभावकत्व ग्रहण गरेर पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्नुपर्नेमा थापाले जोड दिए।
पार्टीको अधिवेशन र नेतृत्व चयन प्रक्रियामा चित्त नबुझेर निर्वाचन आयोग जानुलाई आफूले स्वाभाविक रूपमा लिएको भन्दै थापाले अब आयोगले निर्णय गरिसकेपछि त्यसलाई सबैले मान्नुपर्ने बताए।
‘यो प्रक्रिया विधानसम्मत भयो कि भएन भनेर परीक्षण गर्ने निकाय निर्वाचन आयोग हो, आयोगले निर्णय गरिसकेपछि त्यसलाई हामी सबैले स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘रेफ्रीले ह्विसिल फुकिसकेपछि खेल सकिन्छ, अब हामीसँग दायाँबायाँ गर्ने समय छैन।’
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले पार्टीसँग समयको ठूलो दबाब रहेको थापाले उल्लेख गरे। ‘हामीलाई गुटगत राजनीतिभन्दा पनि समयको प्रेसर छ,’ उनले भने, ‘दुई दिनभित्र धेरै काम टुंग्याउनुपर्नेछ।’
थापाले आफू वरिष्ठ नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूसँग निरन्तर संवादमा रहेको जानकारी दिए।
‘हामी संवाद गरिरहेका छौं, १–२ दिनभित्रै हामी सबै एक ठाउँमा आएर, एकढिक्का भएर निर्णय गरेको देख्न पाउनुहुनेछ,’ उनले दाबी गरे।
उनले देउवा पक्षबाट घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरू पनि फिर्ता हुने विश्वास व्यक्त गरे। पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य मान्यतालाई जोगाउँदै नयाँ युगको चेतना अनुसार पार्टीलाई अघि बढाउने आफ्नो योजना रहेको थापाको भनाइ छ।
प्रकाशित: ३ माघ २०८२ २१:२४ शनिबार



-600x400.jpg)

