नेपाली कांग्रेसका नेता सुनील शर्माले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेसको मुख्य प्रतिस्पर्धी नहुने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता शर्माले नयाँ उत्साहका साथ कांग्रेस एक्लै चुनावमा जाने र नतिजा आफ्नो पक्षमा पार्ने बताएका हुन्।
सञ्चारकर्मीले आगामी चुनावमा रास्वपा मुख्य प्रतिस्पर्धी हुन्छ कि भनेर सोधेको प्रश्नमा डा. शर्माले त्यसलाई अस्वीकार गरे।
‘आगामी निर्वाचनमा कांग्रेससँग रास्वपाको ठूलो प्रतिस्पर्धा नै हुँदैन,’ शर्माले भने, ‘अब हामी ‘स्वीप’ गरिहाल्छौं नि ! अब सबै गाउँ छिर्ने हो, ढ्याक–ढ्याक पारेर मेजोरिटी ल्याउने हो।’
उनले कांग्रेसको नयाँ नेतृत्वप्रति जनता र कार्यकर्तामा भरोसा जागेकाले चुनावी नतिजा कांग्रेसको पक्षमा आउने जिकिर गरे।
नेता शर्माले अबको चुनावमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारे। शेरबहादुर देउवा पक्ष एमाले अध्यक्ष केपी ओलीसँग मिल्न सक्ने चर्चा चलिरहेका बेला शर्माले त्यसको खण्डन गरे।
‘देउवा पक्ष ओलीसँग मिल्न जानुहुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टी गठबन्धनको पक्षमा जाँदैन, सिंगल चुनाव लड्छ। १६५ वटै ठाउँमा हाम्रा उम्मेदवारहरू हुन्छन्।’
उनले अबको निर्वाचनपछि गगन थापा बहुमतसहितको प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताए। ‘नयाँ आएको टिमले हिजोको जस्तो गल्ती गर्दैन, यसमा दुविधा छैन,’ उनले थपे।
पार्टीभित्रको पछिल्लो विवादबारे बोल्दै शर्माले विशेष महाधिवेशन संस्थापन पक्षको दमनको परिणाम भएको बताए।
‘गत पाँच वर्षमा पार्टीभित्र नहुनुपर्ने धेरै कुरा भए, संस्थापनमा नलागेका साथीहरूलाई उत्पीडनमा राखियो र टिकट वितरणमा चलखेल भयो,’ उनले भने, ‘नागरिक र क्याडरले खोजेको परिवर्तनको नतिजा नै यो महाधिवेशन हो।’
उनले निर्वाचन आयोगले वैधानिकता दिइसकेकाले अब सबै पक्षले यसलाई स्वीकार गरेर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए।
प्रकाशित: ३ माघ २०८२ २१:४२ शनिबार





