इन्टरनेश्नल स्काउट भोलुन्टियर ग्रूप नेपाल (आईएसभीजी) ले चाइनिज भाषा सिकाउने भएको छ। चीनस्थित हिसान मिडियासँगको सहकार्यमा आईएसभीजीले चाइनिज भाषा सिकाउने भएको हो।
यसको जानकारी बुधबार (आज) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी दिइएको छ। हिसान मिडियाका अध्यक्ष नी हाइसानले भाषा र संस्कृतिले जोडेर चीन-नेपालबीच दौत्य सम्बन्ध कायम गर्न आफूहरूले चाहेको बताए।
आफू पनि सामान्य परिवारबाट आएको स्मरण गर्दै हाइसानले पढ्न नपाएका नेपालका दूरदराजका युवाहरूलाई चाइनिज भाषा सिकाउने बताए। राम्रो पढ्नेलाई जागिरको ग्यारेन्टीसमेत गर्ने प्रतिबद्धता उनले जनाएका छन्। उनका अनुसार यो पूर्णत: नि:शुल्क हुनेछ।

यसको व्यवस्थापन आईएसभीसीले गर्नेछ। यसका अध्यक्ष अजित खड्काका अनुसार आफूहरूले सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी विद्यार्थी छनोट गर्ने र त्यसमध्ये राम्रो गर्ने केहीलाई पढाउने बताए। 'नी हाइसानले माछा मारेर दिने होइन, माछा मार्न सिकाउने हो भन्नुहुन्छ, हामीले गर्ने त्यसै हो। अलिक दीगो रूपमा सीपयुक्त बनाऔँ भन्ने हाम्रो उद्देश्य हो,' उनले भने।
यसबाहेक स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा पनि हिसान मिडियाले सहकार्य गर्ने त्यसका अध्यक्ष हाइसानले बताएका छन्। चीनमा यहीसँग सम्बन्धित काम गर्दै आएको हिसानले नेपालमा पनि सम्बन्धित काम नै गर्न खोजेको उनले बताएका छन्।

यी परियोजनाहरूले नेपाली युवाको भविष्य, सांस्कृतिक कूटनीति र नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसरका रूपमा आफूहरूले अर्थ्याएको हिसान मिडियाले जनाएको छ।
प्रकाशित: २७ चैत्र २०८१ २१:१८ बुधबार





