गर्मी मौसम सकिएर जाडोयाम सुरु भएसँगै अस्पताल तथा क्लिनिकहरूमा एउटा साझा गुनासो लिएर आउने बिरामीहरूको संख्या ह्वात्तै बढ्ने गर्छ।
त्यो साझा समस्या हो- हातगोडा र जोर्नीको असाध्यै दुखाइ।
गर्मी महिनाको तुलनामा जाडोयाममा बाथरोगीहरूलाई आफ्नो दैनिकी चलाउनै मुस्किल पर्ने गरी पीडा बढ्ने गर्छ। आखिर जाडोमै बाथ किन बल्झिन्छ ? वा यसको दुखाइको तीव्रता किन बढ्छ ?
यो विषयमा धेरैलाई वैज्ञानिक कारण थाहा नहुन सक्छ। तर, तथ्याङ्कले के देखाउँछ भने जाडो मौसममा बाथरोगको उपचार गराउन आउने बिरामीको संख्या गर्मीको तुलनामा दोब्बर हुने गरेको छ।
नेसनल बाथरोग सेन्टरका वरिष्ठ बाथरोग विशेषज्ञ डा. सुधिर कर्माचार्यका अनुसार चिसो मौसम बाथरोगीका लागि निकै कष्टकर समय हो। ‘गर्मीको तुलनामा जाडोमा बाथरोगका बिरामी दोब्बर हुन्छन्, उनीहरू धेरै गाह्रो भयो भन्दै आउँछन्,’ डा. कर्माचार्यले सुनाए।
नेसनल बाथरोग सेन्टरको तथ्याङ्कलाई हेर्ने हो भने, गर्मी मौसममा औसतमा दैनिक २५० जना बिरामी उपचारका लागि आउने गर्छन्। तीमध्ये धेरैजसो नियमित स्वास्थ्य परीक्षणका लागि आउने बिरामी हुन्छन्।
तर, जाडो मौसम सुरु हुनासाथ यो संख्या दोब्बर हुन्छ। जाडोमा आउने बिरामीहरू नियमित जाँचका लागि भन्दा पनि पीडा सहन नसकेर वा रोग बल्झिएर अस्पताल आइपुग्छन्।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हाल नेपालको कुल जनसंख्याको ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथरोगको समस्या रहेको पाइएको छ।
यस्तै, नेसनल बाथरोग सेन्टरले गरेको एक प्रारम्भिक अध्ययन सर्वेक्षण अनुसार नेपालको २७ प्रतिशत जनसंख्यामा बाथ तथा बाथजन्य रोगका लक्षणहरू देखिएका छन्।
के हो बाथरोग ? किन हुन्छ ?
आम बुझाइमा जोर्नी दुख्नुलाई मात्र बाथ भन्ने गरिए पनि चिकित्सकीय भाषामा यो अलि जटिल प्रक्रिया हो। हाम्रो शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली हुन्छ। यसलाई बलियो बनाउन शरीरका कोषहरूमा मुख्यतया ‘टि’ सेल र ‘बि’ सेल हुन्छन्। यी सेलहरूको मुख्य काम शरीरभित्र प्रवेश गर्ने भाइरस, ब्याक्टेरिया वा कीटाणुलाई पहिचान गरी बाहिर फाल्नु वा नष्ट गर्नु हो।
तर, कहिलेकाहीँ शरीरको प्रतिरक्षा प्रणालीमा गडबडी आउँछ। यस्तो अवस्थामा ती रक्षक कोषहरूले बाहिरी कीटाणु र आफ्नै शरीरका स्वस्थ कोषहरूबीचको फरक छुट्याउन सक्दैनन्।
परिणामस्वरूप, तिनले आफ्नै शरीरका स्वस्थ कोषहरूलाई नै शत्रु ठानेर आक्रमण गर्न थाल्छन्। यही प्रक्रियाका कारण बाथरोग उत्पन्न हुन्छ।
बाथरोगले शरीरको जुन भागमा आक्रमण गर्छ, त्यही भागमा लक्षणहरू देखिन थाल्छन्। सामान्यतया जोर्नी दुख्ने भए पनि यसले आँखा रातो हुने, मिर्गौला बिग्रिने समस्या निम्त्याउने जस्ता गम्भीर असरहरू पनि देखाउन सक्छ।
बाथरोग लाग्नुमा वंशाणुगत कारण पनि प्रमुख मानिन्छ। कतिपय बिरामीमा जन्मजात रूपमै बाथरोगको ‘जिन’ वा कोष आएको हुन्छ। चिकित्सकीय परीक्षणका क्रममा ‘एचएलए बी २७’ र ‘एचएलएडी ४’ जस्ता मार्करहरू पोजिटिभ देखिएमा यसलाई वंशाणुगत बाथरोग भएको मानिन्छ।
तर, डा. कर्माचार्यका अनुसार नेपालमा पछिल्लो समय वंशाणुगतभन्दा पनि गलत जीवनशैलीका कारण बाथरोगीहरूको संख्या बढिरहेको छ। हामीले दैनिक उपभोग गर्ने खानेकुरामा अत्यधिक मात्रामा रसायन वा विषादीको प्रयोग हुनु र विलासी वा आरामदायी जीवनशैली अपनाउनु यसको मुख्य कारण हो।
शारीरिक व्यायामको कमी र अस्वस्थ खानपानले शरीरमा बोसो र विकारको मात्रा बढाउँछ। जसले अन्ततः बाथरोगलाई निम्तो दिन्छ।
जाडोमा किन बढ्छ दुखाइ ?
चिसो मौसममा बाथ किन बल्झिन्छ भन्ने सन्दर्भमा डा. कर्माचार्यले मुख्यतया चारवटा वैज्ञानिक कारणहरू औंल्याएका छन्।
नसा र रक्तनलीमा संकुचन
चिसो मौसममा हाम्रो शरीरका रगत बग्ने नलीहरू खुम्चिएर साँघुरो हुन्छन्। यस प्रक्रियालाई ‘भासोकन्स्ट्रिक्सन’ पनि भनिन्छ। रगतका नलीहरू खुम्चिएपछि शरीरका विभिन्न अंग र जोर्नीहरूमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन।
शरीरमा दुखाइ कम गर्ने हर्मोनहरू र आवश्यक पोषक तत्त्वहरू रगतको माध्यमबाट दुखेको ठाउँसम्म पुग्न अवरोध सिर्जना हुन्छ। फलस्वरुप, जोर्नीहरूमा दुखाइको महसुस बढी हुन्छ।
सेन्सेटिभ नसाहरूको सक्रियता
डा. कर्माचार्यका अनुसार चिसो मौसममा दुखाइ महसुस गराउने संवेदनशील नसाहरू बढी सक्रिय हुन्छन्। तापक्रम घट्दा यी नसाहरूले मस्तिष्कलाई दुखाइको संकेत छिटो पठाउँछन्, जसले गर्दा सामान्य दुखाइ पनि कडा महसुस हुन्छ।
व्यारोमेट्रिक प्रेसरको प्रभाव
जाडोयाममा वातावरणको चाप घटबढ हुन्छ। जसको प्रत्यक्ष असर जोर्नीभित्रको ‘व्यारोमेट्रिक प्रेसर’ मा पर्छ। चिसोमा जोर्नीभित्रको प्रेसर घट्दा त्यहाँका तन्तुहरू सुन्निने र ठाउँ साँघुरो हुने हुन्छ। जोर्नीको खेल्ने ठाउँ घटेपछि अलिकति हलचल गर्दा पनि कार्टिलेज (हड्डी जोड्ने तन्तु) वा नसामा घर्षण भई घाउ हुने र अत्यधिक दुख्ने समस्या आउँछ।
शारीरिक निष्क्रियता
हाम्रो आफ्नै बानीव्यवहार पनि दुखाइ बढाउन जिम्मेवार छ। गर्मी मौसममा हामी बिहानी हिँडडुल वा व्यायाम बढी गर्छौं। तातो मौसमका कारण जोर्नीहरू आफैंमा लचिला हुन्छन् र रक्तसञ्चार प्रणाली सुचारु हुन्छ। तर, जाडोमा हामी व्यायाम गर्न अल्छी गर्छौं र एकै ठाउँमा गुडुल्किएर बस्न रुचाउँछौं। शारीरिक गतिविधि नहुँदा नसाहरू झन् खुम्चिन्छन्, जोर्नी जाम हुन्छ र बाथरोगको दुखाइ बढ्छ।
भिटामिन ‘डी’ र प्रतिरक्षा प्रणाली
जाडोयाममा घाम कम लाग्ने भएकाले धेरै मानिसमा भिटामिन ‘डी’ को कमी हुन्छ। भिटामिन ‘डी’ को कमीले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। बाथरोग आफैंमा प्रतिरक्षा प्रणालीसम्बन्धी रोग भएकोले, इम्युनिटी पावर कमजोर हुँदा रुघाखोकी, फ्लु र निमोनिया जस्ता संक्रमणले छिटो समात्छ। शरीरमा अन्य कुनै संक्रमण हुँदा बाथरोग झन् बल्झिने खतरा रहन्छ।
बाथरोगीले चिसोमा कसरी अपनाउने सावधानी ?
डा. कर्माचार्य र विज्ञ टोलीले चिसो मौसममा बाथरोग नियन्त्रण गर्न र दुखाइ कम गर्न निम्न सुझावहरू दिएका छन्।
पूरा शरीर ढाक्ने न्यानो लुगा : धेरैजसो मानिसले जाडोमा टोपी, मोजा र पन्जा त लगाउँछन् तर शरीरको भित्री भागलाई तातो राख्न बिर्सन्छन्। बाहिरी ज्याकेटले मात्र पुग्दैन। चिकित्सकका अनुसार भित्रपट्टि शरीरमा टाँसिने गरी थर्मकोट वा हाइनेक लगाएर त्यसमाथि स्वेटर र ज्याकेट लगाउँदा शरीरको तापक्रम एकनासको हुन्छ। यसलाई ‘लेयरिङ’ भनिन्छ। सिरक ओढेजत्तिकै न्यानो हुने गरी लुगा लगाउनु बाथरोगीका लागि अनिवार्य छ।
नियमित तातोले सेक्ने : रक्तसञ्चार बढाउन र जोर्नीको कडापन हटाउन बेला–बेलामा हट ब्याग वा तातो पानीले सेक्नु प्रभावकारी हुन्छ। यसले खुम्चिएका नसाहरूलाई खुलाउन मद्दत गर्छ।
घरभित्रै व्यायाम : बाहिर चिसो छ भन्दैमा व्यायाम छोड्नु हुँदैन। घरभित्रै गर्न सकिने व्यायामहरू जस्तै, हातका औंला चलाउने, नाडी घुमाउने, घुँडा र ढाडको सामान्य कसरत नियमित गर्नुपर्छ। यसले जोर्नीलाई जाम हुन दिँदैन।
खोपको प्रयोग : बाथरोगीहरूले नियमित औषधि सेवन गरिरहेका हुन्छन्। जसले रोग प्रतिरोधात्मक क्षमतालाई केही हदसम्म कमजोर बनाएको हुन सक्छ। त्यसैले, चिसो सुरु हुनुअघि नै निमोनिया र इन्फ्लुएन्जा (फ्लु) विरुद्धको खोप लगाउनु बुद्धिमानी हुन्छ। यसले संक्रमणबाट जोगाउँछ र बाथ बल्झिन दिँदैन।
धुमपानबाट टाढै रहने : अध्ययनहरूले देखाए अनुसार चिसोमा शरीर तताउने बहानामा युवाहरूले धुमपान बढी गर्ने गर्छन्। तर, चुरोट वा हुक्काको धुवाँले बाथरोगलाई उत्तेजित बनाउँछ र औषधिले काम नगर्ने अवस्था सिर्जना गर्न सक्छ। साथै, चिसो हावा र धुलो–धुवाँजस्ता प्रदूषणबाट पनि बच्नुपर्छ।
जाडो मौसम बाथरोगीका लागि चुनौतीपूर्ण भए पनि सही जीवनशैली, न्यानो कपडा, नियमित व्यायाम र चिकित्सकको सल्लाह बमोजिम औषधिको नियमित सेवन गरेमा यसलाई सहजै व्यवस्थापन गर्न सकिने चिकित्सकहरूको निष्कर्ष छ।
प्रकाशित: १० पुस २०८२ २१:४१ बिहीबार





