१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

बुहारी हत्या प्रकरणपछि सिन्धुली तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यू

सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा स्थानीयले तोडफोड गरेपछि स्थिति नियन्त्रण बाहिर जान थालेकाले बिहीबार बेलुकी साढे ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई–४ र ६ का विभिन्न क्षेत्रमा कर्फ्यु लगाइएको हो।

प्रहरीका अनुसार तोडफोड र हुलदङ्गा बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो तर अवस्था नियन्त्रणमा आउन नसकेपछि अश्रुग्यास समेत प्रयोग गर्नुपरेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले घटनास्थल वरपर ढुङ्गामुढा, हुलदङ्गालगायत अवाञ्छित गतिविधि भएपछि कर्फ्यु आवश्यक परेको बताए। कर्फ्यु अवधिमा सवारी आवागमन, भेला–जुलुस तथा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ।

गत आइतबार अपराह्न धुराबजारस्थित भान्सा कोठाभित्र सुशीलालाई उनकी ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) ले योजनाबद्ध रूपमा आगो लगाएर हत्या गरेको आरोप छ। दुवै आरोपी पक्राउ परिसकेका छन् र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि मृतकका आफन्त र स्थानीयले दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनसमेत गरेका छन्।

प्रकाशित: १० पुस २०८२ २१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App