२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मौन अवधिअघि रविले भने- अब सिंहदरबारबाटै नीलो क्रान्ति सुरु हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मौन अवधि सुरु हुनुअघि मतदातालाई विशेष अपिल गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले पुराना राजनीतिक दलहरुले आफूलाई जेलमा सडाउन र पार्टीलाई जरैदेखि सिध्याउन खोजेको आरोप लगाए।

लामिछानेले भनेका छन्, ‘अपराधीहरुको शासनले जीवनभर जेलमा सडाउने प्रयास गरेको व्यक्ति र जरैदेखि सिध्याउन खोजेको पार्टीले जनताबाट पाएको यो तहको प्रेम र स्नेह आफैंमा एउटा इतिहास हो।’

उनले देश पुराना पार्टीहरुबाट अति बेचैन भएको भन्दै अब परिवर्तनको इतिहास रच्ने बेला आएको दाबी गरे।

लामिछानेले यसपटक मतदान गर्दा कुनै नेता, पार्टी वा चुनाव चिह्नलाई नभई आफ्ना सन्ततिको भविष्य सम्झन आग्रह गरेका छन्।

‘विदेशी मरुभूमिमा बगेका तपाईंका आँसु र पसिना सम्झनुहोला। आम जनताले जीवनजल सम्म नपाएको र देशमा एउटा सुविधासम्पन्न अस्पताल नबनाएका नेताहरु सामान्य रुघाखोकी लाग्दा राज्यको खर्चमा सिंगापुर पुगेको सम्झनुहोला,’ उनले भने।

सभापति लामिछानेले अबको लडाइँ सिंहदरबार बदल्ने लडाइँ भएको बताउँदै नीलो क्रान्तिको सुरुवात गर्ने घोषणा गरेका छन्।

पुराना दलहरुले ३७ वर्षसम्म राज्यका हरेक धमनीमा विष भरेको आरोप लगाउँदै उनले भने, ’त्यो विष निकाल्न सिंगो राज्यको संरचना फेर्नुपर्छ। अब सिंहदरबारबाटै नीलो क्रान्ति सुरु गर्ने हो।’

संरचनात्मक सुधारका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टी चिह्नमा मतदान गरी रास्वपालाई दुई तिहाइ जनमत दिन उनले आग्रह गरेका छन्।

प्रकाशित: १८ फाल्गुन २०८२ २१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App