खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, बुईपाको पञ्चदोबाटेमा किराँती प्रथम राजा यलम्बरको ११० फिट (४० मिटर) अग्लो भव्य शालिक निर्माण अन्तिम चरणमा पुगेको छ।
माझ किरातको ऐतिहासिक स्थलमा निर्मित यो शालिकसहितको ‘यलम्बर पार्क’ ले किराती संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
वडाध्यक्ष दिनेश राईले बुईपाको ऐतिहासिक र सामरिक महत्त्वलाई उजागर गर्दै यलम्बर पार्कलाई पर्यटकीय गन्तव्य बनाउन अघिल्लो कार्यकालदेखि निर्माण थालिएको जानकारी दिए।
३० रोपनी सरकारी जग्गामा फैलिएको पार्कमा शालिकसँगै आधुनिक फूलबारी, किराती संस्कृति झल्काउने संरचना, सामूहिक मछामा (पितृ) घर, तीन चुला, विजुवा नछुङलगायत संरचना बनाइएको छ।
सांस्कृतिक घर र मछामा गत वर्ष नै सम्पन्न भइसकेका छन् भने फूलबारी र अन्य संरचनाको काम ९५ प्रतिशत सकिएको निर्माण प्रतिनिधि सुनिल राईले जानकारी दिए। “होलिजिन लाइट र इन्टरलक इँटा जडान बाँकी छ, एक–दुई सातामा हस्तान्तरण गर्छौँ,” उनले भने।
प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानीमा बनेको यो आयोजनाको कुल लागत १४ करोड अनुमान गरिएको छ।
नगरपालिकाले ४ करोड २० लाख भुक्तानी गरिसके पनि प्रदेश सरकारबाट बाँकी रकम प्राप्त नभएको ठेकेदार सुनिल राईको गुनासो छ। उनले आफ्नै लगानीमा काम सम्पन्न गरेको र बाँकी रकम पछि लिने गरी हस्तान्तरणको तयारी गरेको बताए।
नगरप्रमुख तीर्थराज भट्टराईले यो शालिक विश्वकै अग्लो भएको दाबी गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने पहल गर्ने बताए। “वैशाख पहिलो साताभित्र हस्तान्तरण र उद्घाटन गर्छौँ,” उनले भने।
बईपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा रहेको पार्कमा प्रवेशद्वार, वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्यचौकी, होटल र रेस्टुरेन्ट सुविधा उपलब्ध छन्।
पार्कमा फ्री इन्टरनेट, सुम्निमा–पारुहाङ मन्दिर, चिया–कफी हाउस र किराती सम्पदा एकै ठाउँमा रहेकाले आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने अपेक्षा छ।
स्थानीय अगुवाहरूले यसलाई किराती संस्कृति अध्ययनको थलो बनाउन सकिने बताएका छन्। गाईघाट–दिक्तेल सडकको राजापानी–महुरे खण्ड कालोपत्रे प्रक्रियामा रहे पनि हाल धुलो र हिलोको समस्या कायमै छ।
प्रकाशित: २३ चैत्र २०८१ २०:५४ शनिबार