प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा आफू प्रजातन्त्रका लागि १४ वर्ष जेल जीवन बिताएको सुनाएका छन्।
बिहीबार थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दशकौँसम्म संघर्ष, यातना र कठोर जेल जीवन बिताएर हाल मुलुकको सेवा गरिरहेको उल्लेख गरे।
उनले लोकतन्त्रका लागि जेल बसेको स्मरण गर्दै नागरिकमा डर होइन, आत्मविश्वास जगाउने वातावरण बनाउनु सरकारको कर्तव्य भएको उल्लेख गरे।
आफ्नो जेल जीवन र संघर्ष नेपालको समृद्धि र स्थायित्वका लागि भएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे।
‘आज म नेपाल सरकारको नेतृत्वमा छु, प्रधानमन्त्री छु। तर प्रश्न उठ्छ- मेरो उद्देश्य के हो ? मेरो सरकारको लक्ष्य के हो ? मेरो पार्टीको ध्येय के हो ? मैले गरेको राजनीतिक संघर्षको सार के हो ?’
प्रधानमन्त्री ओलीले ती सबै प्रश्नहरूको उत्तर एउटै रहेको बताए- ‘मानवता सुरक्षित होस्, आजका पुस्ता खुशी र सुरक्षित बनून्, भोलिका पुस्ताहरू झन् सुरक्षित र झन् सुखी बनून्।’
प्रधानमन्त्री ओलीले नागरिकको बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको सुनाए। “हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्छ, ढुक्कसँग हाँस्न, बोल्न र सपना देख्न सक्नुपर्छ,” उनले भने।
उनले कुनै पनि जीवको पहिलो स्वाभाविक अभिलाषा नै ‘बाँच्ने अधिकार’ रहेको उल्लेख गर्दै नागरिकलाई सुरक्षित महसुस गराउने जिम्मेवारी राज्यकै हुने धारणा राखे।
उनले समाज कानुनको डरले होइन, दायित्वको चेतनाले चल्नुपर्नेमा जोड दिए। ‘समाज कानुनको डरले होइन, आफ्नो कर्तव्यको चेतनाले चल्नुपर्छ,’ उनले भने, ‘नीतिहरू कागजमा मात्र सीमित हुनुहुँदैन, ती नागरिकको आचरणमा प्रतिबिम्बित हुनुपर्छ।’
यो पनि पढ्नुहोस्
‘समृद्ध विश्व, सुखी मानवता’ मेरो अन्तिम लक्ष्य: प्रधानमन्त्रीप्रकाशित: २१ चैत्र २०८१ १९:५५ बिहीबार