कपिलवस्तुमा शनिबार दुई स्थानमा भएको आगलागीले १२ लाखभन्दा बढीको गहुँबाली र सम्पत्ति जलेर नष्ट भएको छ।
तातो हावाहुरीसँगै जिल्लामा केही दिनयता गहुँखेत, घर र गोठमा आगलागीका घटना बढेका छन्।
यशोधरा गाउँपालिका–४, पोखरभिटवामा १८ कृषकको ९ लाख ४२ हजार ५०० बराबरको काट्ने तयारीमा रहेको गहुँ जलेको छ भने कृष्णनगर नगरपालिका–७, अजिगरामा ८ कृषकको १ लाख ७१ हजारको गहुँ, उखु र पराल नष्ट भएको छ।
प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार यशोधराको आगलागी स्थानीय हजरत अलीको खेतबाट सुरु भएको थियो।
कारण खुल्न नसके पनि कपिलवस्तु नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासले आगो नियन्त्रणमा आएको बीओपी डंगरीका सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाले बताए।
यस्तै, कृष्णनगरको आगलागी कृष्णनगर र शिवराज नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको विश्वकर्माले जानकारी दिए।
यसअघि शुक्रबार सुद्धोदन गाउँपालिका–४, महादेवमा ३ लाख ६० हजार र बिजयनगर गाउँपालिका–६, चापागाउँमा १२ लाख ६ हजारको क्षति भएको थियो।
चार दिनअघि बिजयनगर–३, ठूलो सिहयिनामा २ सय क्विन्टल गहुँ जलेर ८ लाख २५ हजारको नोक्सानी भएको प्रहरीले जनाएको छ। केही दिनयता सुद्धोदन र बिजयनगरलगायत क्षेत्रमा बारम्बार आगलागीले लाखौँको सम्पत्ति नष्ट भएको छ।
प्रकाशित: २३ चैत्र २०८१ २१:०० शनिबार