सुनसरीको बराहक्षेत्र-१ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि शनिबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको छ।
घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेपछि उनी सिकिस्त अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन्।
घटनापछि राईलाई उनीसँगै घाँस काट्न गएका अन्य व्यक्तिहरूले उद्धार गरी अस्पताल पुर्याएका थिए।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विकास राईले एकान्त जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेको बताए। “घटनाको विस्तृत अनुसन्धान आवश्यक छ,” उहाँले नागरिकन्युजसँग भने।
प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको छ।
प्रकाशित: २३ चैत्र २०८१ १९:४० शनिबार