सहरी विकास मन्त्रालय मातहतका देशभरि संचालन भइरहेको नयाँ सहर आयोजना कार्यालयहरूमा निमित्त हटाइ दरबन्दी अनुसार कर्मचारी पठाउन माग गर्दै नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको एउटा टोलीले मन्त्रालयका सचिव गोपाल सिग्देलसँग भेट गरेको छ।
युनियनका उपाध्यक्ष यज्ञ वलीको अध्यक्षतामा गएको उक्त टोलीमा युनियनका सचिव राजन खड्का, पूर्व सचिव देवराज सापकोटा लगायतका कर्मचारी सहभागी थिए।
मन्त्रालयबाट सञ्चालित नयाँ सहर आयोजनाका सबै कार्यालयहरू सुरु देखि नै निमित्त (शाखा अधिकृत सरहका कर्मचारी) ले चलाएका छन्।
दरबन्दी अनुसार उपसचिव सरहका डिभिजन इन्जिनियर जानु पर्ने हो तर डिइहरू नयाँ सहर आयोजनामा नगई काठमाडौँमै बेकामे भएर बसेका छन्। हालै मात्र डिइमा बढुवा भएर १४ जना कर्मचारी मन्त्रालयमा आएका छन्। उनीहरूमध्ये एक जना पनि नयाँ सहर जान मानेनन्।
मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘नयाँ सहर कार्यालय सधैँ निमित्तले चलाउने हो भने डिइको दरबन्दी हटाऔँ र शाखा अधिकृतलाई आयोजना प्रमुख बनाऔँ। तर दरबन्दी अनुसार कर्मचारी हुँदा हुँदै पनि सबै कार्यालयमा निमित्त पठाउनु भनेको चरम बेथिति हो।’
नयाँ सहरमा आयोजना कार्यालयमा निमित्त भएर कार्यरत केही कर्मचारीहरू सोही कार्यालयमा कार्यरत हुँदा हुँदै डिइमा बढुवा भएका छन् तर बढुवा हुने बित्तिकै उनीहरूले उक्त कार्यालय छाडेका छन्।
नयाँ सहर आयोजना कार्यालयमा रहेको दरबन्दीलाई समेत देखाएर उनीहरू बढुवा भएका हुन। बढुवा भए पछि पुरानो कार्यालयमा फर्केर जाने गरेका छैनन्। देशभरिका ५४ वटा नयाँ सहरमध्ये ११ ठाउँमा छुट्टै आयोजना कार्यालय र छुट्टै जनशक्ति राखिएका छन्।
११ ठाउँ मध्ये १० ठाउँमा नयाँ सहर आयोजना कार्यालय र जाजरकोटमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) राखिएको छ। बाँकी ठाउँमा सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका आयोजना कार्यालयले हेर्ने गरेका छन्।
उनीहरूलाई दोहोरो जिम्मेवारी दिइएको छ। दशवटै नयाँ सहर कार्यालय निमित्तले चलाएका छन्। जस अनुसार बैतडीको पाटनमा सौरभ कोलनी, साफेबगर अछाममा मनोज यादव, राकम कर्णालीमा प्रवेश लामिछाने, रुकुम पश्चिम चौरजहारीमा गौरी पण्डित, डुम्रे तनहुँमा अभिषेक अधिकारी, बैरेनी गल्छी धादिङमा त्रिलोक जोशी, खुर्कोट सिन्धुलीमा सन्तोष निरौला, वसन्तपुर तेहथुममा सुदिप झा पाँचथर फिदिममा मोहन विक र भेरी गंगा सुर्खेतमा हेमन्त काफ्लेले निमित्त भई काम चलाएका छन्।
निमित्त भई नयाँ सहर आयोजना कार्यालयमा गएका एक कर्मचारी भन्छन्, ‘दरबन्दी अनुसार कर्मचारीहरूलाई मन्त्रालयको बरण्डामा राख्ने तर जान नचाहँदा नचाहँदै पनि शाखा अधिकृतलाई नयाँ सहर आयोजना कार्यालयमा निमित्त भई पठाउने गरिएको छ। यो एकदमै अन्याय भयो।’
‘सचिव ज्युसँगको भेट गरेर नयाँ सहर आयोजना दरबन्दी अनुसार कर्मचारी पठाउनुहोस्। डिभिजन इन्जिनियरहरूलाई मन्त्रालयको कोरिडोरमा राखेर इन्जिनियरलाई जबरजस्ती नयाँ सहर आयोजना कार्यालयमा नपठाउनुहोस् भनी माग गर्यौ’ सचिवसँग भेट गरेपछि उपाध्यक्ष वलीले भने, ‘सचिव ज्युले माथिल्लो तहका कर्मचारीहरू दुर्गममा जान नचाहने प्रवृत्तिले यस्तो समस्या आएको हो भन्नु भयो।’
नयाँ सहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मिलन आचार्यले सबै नयाँ सहर आयोजना कार्यालयमा दरबन्दी अनुसार कर्मचारी पठाउन आफूले पहल गरिइरहेको बताए।
प्रकाशित: २३ चैत्र २०८१ २१:०६ शनिबार